भाउन्नेको जंगलभित्र मूर्ति नै मूर्ति

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

गोपाल काफ्ले, पथरी, २४ फागुन, मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको छ । गत फागुन ४ गतेदेखि सुरु भइरहेको कार्यशालामा ६ देशका ३० जना मूर्तिकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

सुनसान झाडी रहेको ठाउँमा अहिले झाडी फाँडेर ठूला ठूला ढुंगामा मूर्ति कुँदेर पर्यटक लोभ्याई राखिएको छ । त्यही ढुङ्गामा नेपाल, भारत, जापान, जर्मन, ईटाली र बंगलादेशका कलाकारले आफ्ना नयाँ सृजना कुदेर छाडेका छन् ।

राम्रा–राम्रा कला कृतिहरु निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सिर्जना पार्क निर्माणको थालनी गरेको वडा अध्यक्ष गंगा याक्खा बताउँछन् ।

५० वटा मूर्ति तयार गरी सुन्दर बगैँचा निर्माण गर्ने ध्येयको साथ कार्यशालामा सुरु भएको हो । सो पार्कमा जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामासहित ३० जना दक्ष, व्यवसायिक मूर्तिकारले आकर्षक मूर्तिहरु खोपेका छन् । जसमा ५ विदेशी र २५ स्वदेशी मूर्तिकारहरुले कुँदेका सुन्दर मूर्ति वनमा सजिएका छन् । उनीहरुले १८ दिन लगाएर विभिन्न मूर्ति तयार पारेका हुन् । सृजना सामुदायिक वनले उक्त क्षेत्रमा सृजना पार्कको नाममा बगैंचा तयार पारी आउदा दिनमा पूर्वकै नमुना पार्क निमाण गर्ने सोच लिएको वनका अध्यक्ष छत्र लिम्बु बताउँछन् ।

करिब १ करोड ८४ लाखको लागतमा तयार भएकोे पार्कमा तराई मुलका धिमाल र राजवंशीको संस्कृति झल्कने खाल्को मूर्तिका साथ मनमोहर काल्पनिक मूर्तीसहित बेलबारीलाई पहिचान गराउने सृजना रहेको कार्यशालाका संयोजक तथा पूर्व नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख धनु याक्खाले बताए ।

पार्कमा आउने पर्यटकको मन लोभ्याउन आफ्नो सुन्दर अकृती तयार गरी पर्यटक माझ छोड्न अफूहरु लागिपरेको कलाकार हिम्मत नेम्वाङ बताउँछन् ।

सो कार्यशाला बेलबारीका कलाकार धनु याक्खाद्वारा धनु आर्ट स्टुडियोको सहयोग, बेलबारी नगरपालिका तथा सृजना सामुदायिक वनको आयोजनामा सञ्चालन भएको हो । कार्यशाल सम्पन्न गराउनको लागि बुद्ध एयर, नोबेल अस्पताल, गोर्खा डिपार्टमेन्ट स्टोर, चिसाङ क्रसरलगायतले कार्यशालालाई सहयोग गरेका छन् ।