माथिल्लो कर्णाली परियोजनामा जी.एम.आर.को म्याद थप्नु राष्ट्रघात

आजको बजार मुख्य समाचार

रमेश हतुवाली, काठमाडौँ, २४ माघ, माथिल्लो कर्णाली परियोजनामा भारतीय कम्पनी जी.एम.आर.को म्याद थप्नु राष्ट्रघात हुने भन्दै सात राजनीतिक दलहरुले खबरदारी गरेका छन् । काठमाडौं बागबजारस्थित होटल हार्दिकमा बिहीबार आयोजना गरिएको ‘माथिल्लो कर्णाली परियोजनामा भारतीय कम्पनी जी.एम.आर.को म्याद नथपियोस्’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

वक्ताहरुले देश विकास र समृद्धिका लागि गुरुयोजना बन्न सक्ने बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत परियोजनालाई टाट पल्टिसकेको भारतीय निर्माण कम्पनी जी.एम.आर.को जिम्मा लगाउदै बारम्बार म्याद थप्ने कार्य गरेको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।

अन्तरक्रियामा बोल्दै नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सि.पी.मैनालीले परियोजना विकास सम्झौता (पिडिए) मा एकपटक भन्दा बढी म्याद थप्न नपाउने विद्यमान प्रावधान रहेकोमा सो प्रावधानलाई लत्याउँदै जी.एम.आर.को अयोग्यता प्रमाणित हुँदा हुँदै पनि सरकारले दुई पटक म्याद थप्नु राष्ट्रिय हित विपरित रहेको बताए । साथै महासचिव मैनालीले जी.एम.आर.को कर्तुतको पर्दाफास हुँदा हुँदै पनि सरकार विस्तारवादको शरणमा परेर सत्ता टिकाउन कै लागि राष्ट्रघाती हर्कत गरेको आरोप लगाए । उनले सो कदमको विरुद्ध आन्दोलनको विकल्प नभएको प्रष्ट पार्दै माथिल्लो कर्णाली जलविद्यूत परियोजना नेपाली जनताकै लगानीबाट निर्माण गर्नु पर्ने र तत्कालै जी.एम.आरलाई हटाउनु पर्ने माग गरे ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सन्तबहादुर पुनले ३ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजनालाई बढाएर निजी स्वार्थको लागि ९ सय मेगावाट बनाइकोमा आपत्ति जनाए । आफ्नो कार्यकालमै सो फायल सदर नगर्न आग्रह गरिएकोमा सरकारले देशद्रोह गरेको खुलासा गर्दै उनले ३० महिनामा मात्रै सर्भे सम्पन्न गरेको बताए । ५४ महिनामा परियोजना सम्पन्न गरिसक्नु पर्नेमा जी.एम.आर.ले ११ वर्ष बितिसक्दा पनि सो अर्थ संकलन गर्न नसकेको बताउँदै कुनै पनि हालतमा जी.एम.आर.को म्याद नथप्न सरकारसँग आग्रह गरे । साथै पुनले माथिल्लो तामाकोशी आयोजनाको ९६ प्रतिशत कार्य सम्पन्न भएको भन्दै सोही आयोजनासँगै आएको जी.एम.आर.सुतेर बस्नुको रहस्य पर्दाफास गर्न अन्तरक्रिया कार्यक्रम गरिएको प्रस्ट पारे ।

माथिल्लो कर्णाली जलविद्युत परियोजना र जी.एम.आर.को विस्तृत विवरण प्रस्तुत गर्दै प्राध्यापक डा.हरि पण्डित र रतन भण्डारीले ६ हजार २ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनालाई विगत ११ वर्षदेखि झोलामा राखेर जी.एम.आर.ले नेपालको अपार सम्भावना बोकेको प्राकृतिक श्रोत ओगटेको बताए । भारत, मालदिभ्स लगायतका देशहरुमा समेत जी.एम.आरले सम्झौता गरेका परियोजना आर्थिक रुपमा टाट पल्टिएर अलपत्र पारेको बताए । निर्माण गर्न सक्ने क्षमता नै नभएको अवस्थामा पुगेको कम्पनीलाई म्याद थप्न ओली सरकार किन आतुर छ भनि उनीहरुले प्रश्न गरे ।

मन्तब्य राख्दै माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियानका अध्यक्ष भरत बहादुर शाही

अन्तरक्रिया कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियानका अध्यक्ष भरत बहादुर शाहीले नेपाली जनताको भाग्य र भविष्यसँग जोडिएको माथिल्लो कर्णाली जलविद्युत परियोजनालाई झोलामा राखेर विगत एक दशकदेखि नेपाली जनतालाई झुक्याउँदै आएको बताए । जी.एम.आर.ले पटक पटक वित्तिय व्यवस्थापनको म्याद थप्दा समेत लगानी जुटाउन नसकी टाट पल्टेको अवस्थामा रहेको कम्पनीले माथिल्लो कर्णालीका लागि लगानी जुटाउन नसक्ने र दातृ निकायहरुले समेत नपत्याएको अवस्थामा परियोजना ओगटेर राख्ने र अन्तमा अनुमति पत्र बेचेर बीचैमा नाफा कुम्ल्याएर भाग्ने दाउमा रहेको बताए । साथै अध्यक्ष शाहीले ६ सय मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी दुई परियोजनाको समेत अनुमति पत्र फुत्काएर बसेको जी.एम.आर.ले उक्त परियोजनाको अनुमति पत्र हङकङमा मुख्यालय रहेको चिनिया कम्पनी ‘सछुवान इन्भेस्टमेन्ट गु्रप’ लाई ३ अर्व रुपैयामा बेचेको बताए । उनले नेपाल राष्ट्र बैकले समेत जी.एम.आर.लाई उक्त रकम नेपाल बाहिर लैजान अनुमति दिइसकेको अवस्थाले माथिल्लो कर्णाली परियोजना समेत बेचेर भाग्ने दाउमा जी.एम.आर.रहेकोले सबैलाई सचेत हुन आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व जलश्रोत सचिव द्वारीकानाथ ढुंगेलले माथिल्लो कर्णाली सम्बन्धी दस्तावेज नै गलत भएको जिकिर गर्दै तत्कालीन मुख्यसचिव लीलामणि पौड्याल, अर्थसचिव यूवराज खतिवडा लगायतले विरोध गर्दा गर्दै पनि पारित गरिएको परियोजनाको दस्तावेजले मुलकलाई अन्यायमा पारेको बताए । साथै ढुंगेलले बंगलादेश, भारत आदि मुलुकलाई विजुली बेच्ने योजना बनाइरहेको भनि नेपाली जनतालाई झुक्याउने काम मात्र गरेकोले यथासक्य चाँडो जी.एम.आर.लाई माथिल्लो कर्णालीबाट धपाउन आग्रह गरे ।

सो अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसी, राष्ट्रिय जागरण परिषद्का अध्यक्ष साध्य बहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका भैरवराज रेग्मी, नेकपा मसालका प्रवक्ता रामप्रसाद पुरी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराज कट्टेल लगायतले माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपाली जनताको स्वाभिमानसँग गाँसिएको राष्ट्रिय गौरवको परियोजना भएको बताए ।

जी.एम.आर.को कर्तुत छर्लङ्ग हुँदा हुँदै पनि केपी ओली नेतृत्वको सरकार भारतीय विस्तारवादसँग लम्पसार भएर जी.एम.आर.को म्याद थप्न लागिपरेको भन्दै त्यसो गरिए सरकार विरुद्ध डरलाग्दो आन्दोलन सञ्चालन गर्नुको विकल्प नहुने र सोही आन्दोनको वलमा जी.एम.आर.लाई माथिल्लो कर्णालीबाट हटाई नेपाली जनताले आफैँ सो परियोजना सम्पन्न गर्ने उनीहरुले बताए ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले गरेका थिए ।

Loading...