सरकार र सिके राउतबीच ११ बुँदे सहमति (पूर्णपाठसहित)

मुख्य समाचार राजनीति

काठमाडौँ, २४ फागुन, नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतबीच शुक्रबार सहमति भएको छ । राजधानीको राष्ट्रिय सभामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका तर्फबाट संयोजक राउतबीच ११ बुँदे सहमति भएको हो ।

बेलायतमा पढेर फर्किएका राउत २०६८ सालदेखि स्वतन्त्र मधेस प्रदेशको वकालत गर्दै आन्दोलनमा थिए । उनी २०७१ पछि पटक पटक पक्राउ परे पनि छुट्दै आएका थिए ।

स्वतन्त्र मधेस प्रदेशको वकालत गर्दै हिडेका राउत यो सहमतिसँगै अखण्ड र सार्वभौम नेपाललाई स्वीकार गर्दै राष्ट्रिय राजनीतिमा आउने भएका छन् । राउतलाई अदालतले थुनामुक्त गरेसँगै सरकारले उनीसँग राजनैतिक सहमति गरेको हो । योसँगै राउतले हालसम्म गर्दै आएका गतिविधिहरु बन्द गर्नु पर्नेछ भने सरकारले थुनामा राखेका गठबन्धनका नेता तथा कार्यकर्तालाई रिहा गर्ने तथा लागेका मुद्दा फिर्ता गर्नु पर्नेछ ।

यस्ता छन् सरकार र सिके राउतबीच भएका सहमतिका ११ बुँदा
१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।

२. हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवम् लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौँ । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ ।

३. लोककन्त्रमा मतभेदहरु हुन सक्छन् तर तिनीहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्ण्ॉ हुनुपर्छ र त्यस्ता मतभेदहरुको समाधान पनि लोकतानित्रक विधिबाटै गरिनु पर्दछ भन्ने मान्यतामा दृढ छौँ ।

४. सामाजिक न्याय, समानता र सद्भाव हाम्रो साझा उद्देश्य हो । हामी तराई–मधेस लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक, आथिृक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याउन र तराई–मधेस लगायत समग्र देशको विकासलाई द्रुत गतिमा अघि बढाउन प्रतिवद्ध छौँ । त्यसैगरी संविधान प्रदत्त नेपाली जनाताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्न र तराई–मधेस लगायत समग्र देशमा सुशासन कायम गर्दै समानता र समाजवाद तर्फ अग्रसर हुन प्रतिवद्ध छौँ ।

५. स्वतन्त्र मधेस गठबन्धनका नेता तथा कार्यकर्ताहरु माथि लगाइएको राज्य विरुद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दाहरु फिर्ता लिइनेछ र हिरासत वा कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निशर्त रिहा गरिनेछ ।

६. स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका विताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइृन सामग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन । आगमी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।

७. स्वतन्त्र मधेस गठबन्धनका नेता–कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपाल भित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पाटीृ खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन र त्यस्ता कृयाकलाप गरेबापत राज्यद्वारा कुनै प्रकारको कारबाही गरिने छैन ।

८. २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिनेछ ।

९. स्वतन्त्र मधेस गठबन्धनको आयोजनामा सञ्चालित आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिनेछ ।

१०. स्वतन्त्र मधेस गठबन्धनका नेता तथा कार्यकर्ताहरुमा रहेको ज्ञान, सीप र सामथ्र्यलाई तराई–मधेस लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवम् लोकतानित्रक विकास र खुशहालीको लागि नयाँ उचाईका साथ उदुपयोग गर्न र सरकाको तर्फबाट स्वतन्त्र मधेस गठबन्धनप्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा व्यवहार गर्न सहमत भएका छौँ ।

११. यो सहमति आजैका मितिबाट लागू हुनेछ ।

नेपाल सरकारको प्रतिनिधि

माननीय रामबहादुर थापा
गृहमन्त्री
२०७५ फागुन २४

स्वतन्त्र मधेस गठबन्धनको प्रतिनिधि

चन्द्रकान्त (सि.के) राउत
संयोजक
२०७५ फागुन २४