प्रेरक प्रसङ्ग : ‘बिगा पनेरूकी बुहारी’

मुख्य समाचार विचार

भारतमा जस्तै ऐतिहासिक घटनालाई आधार बनाएर अनेकौं काल्पनिक उपघटना जोडी ‘बिगा पनेरूको भारत’ कथिएको छ । नेपाल एकीकरण हुनुभन्दा पहिलेको डोटी तथा कुमाउँ क्षेत्रको राजनीतिक, सांस्कृतिक, सामाजिक र ऐतिहासिक परिदृश्यलाई समेटेर यो पाठ प्रस्तुत गरिएको छ । यसमा चर्चा गरिएका प्रमुख पात्र बिगा पनेरू हालको डडेल्धुरा जिल्लाको भद्रपुर गाउँ विकास समिति, वडा नम्बर–१ र ६ मा पर्ने नौलाकोट भन्ने गाउँका निवासी थिए । उक्त गाउँमा आज पनि तिनको परिवारका पछिल्ला सदस्य बसोबास गर्दछन् । वशिष्ठ गोत्रीय ती पनेरू आफ्नो समयका असामान्य साहस, वीरता तथा स्वाभिमान कायम गरेर चर्चित बनेका व्यक्ति मानिन्छन् । शत्रुका हातबाट मर्नुभन्दा आफ्नै हातले परिवारसहित आफ्नो जीवन समाप्त गरेर तिनले कुमाउँमा ख्याति आर्जन गरेका थिए ।

पहाडी साइ अर्थात् पहाड शाही डोटी राज्यका विक्रमीय सम्वत् १६९९ देखि १७२३ सम्म शासन गर्ने राजा थिए । त्यस बखत कुमाउँमा बजि चन्न अर्थात् राजा बाजबहादुर चन्द (विक्रमीय सम्वत् १६९५ देखि १७३४) को राज थियो । तिनै बजि चन्न भनिने बाजबहादुर चन्दको नाम मुखान्तरण हुँदै जाँदा भारत लोककाव्यमा जगि चन्न भनिएको छ ।

स्वाभिमानी, वीर तथा साहसी इतिहास प्रसिद्ध एक जना नायकको जीवनमा घटेको ज्यादै मार्मिक र वियोगान्त घटनालाई ‘बिगा पनेरूको भारत’ मा वण्र्य विषय बनाइएको छ । मध्य कालमा पनि अन्यायी शासकका विरुद्ध निकै प्रेरणाप्रद सङ्घर्ष र क्रान्तिका क्रियाकलाप हुने गरेका कुराको सशक्त प्रमाण पनि यो पाठ हो । मध्य कालमा प्रचलनमा रहेका रीतिरिवाज, सोच, मनोदशा, आर्थिक व्यवहार जस्ता कुरा पनि यसबाट बुझ्न सकिन्छ ।

डोटी राज्यको राजदरबार अजैमिरकोटका राजा पहाड शाहीले राज्यलाई प्राप्त हुने कर नबुझाएको दोष लगाएर सजाय तोक्दा उनको राज्य छोडी बिगा पनेरू छिमेकी राज्य कुमाउँमा शरणार्थी बन्दछन् । तात्कालिक कुमाउँ राज्यको राजधानी चम्पावत गएर त्यहाँका राजा जगि चन्दलाई रिझाए पनि उनका प्रमुख सहयोगी विजयसिंह गेडासित कुरा नमिल्दा कुमाउँमा बिगा पनेरूले कष्ट भोग्नु पर्ने अवस्था आउँछ । शरणार्थी बनेर जानै नहुने ठाउँमा गएपछि दुःख भोग्नु त स्वाभाविकै थियो । त्यस्तो अवस्थामा बिगा पनेरू निकै ठूलो चिन्तामा पर्दछन् । अर्को उपाय नदेखी राजाकहाँ गएर लत्रनु पर्ने स्थिति बिगा पनेरूका अगाडि देखापर्दछ । त्यस क्रममा तिनी घरका परिवारसित समस्याको समाधान खोज्न सल्लाह गर्दछन् । अरूहरू बिगा पनेरूले गरेको निर्णय मान्य हुने कुरा सुनाउँछन् तर तिनकी भाइ बुहारी भने भिन्न विचार प्रस्तुत गर्दै यस्तो भन्दछिन्ः

”अब तपाईँ बुढो हुनु भयो । तपाईँमा पहिलेको जस्तो जोस र जुझारू स्वभाव रहेन । आफ्नो क्षमताको विचार नगरी अर्काको मुलुकमा शरणार्थी बन्नु नै गलत थियो तर जे भयो भयो । अब आएर हामीले लत्रनु भनेको सारा डोटेलीहरूको नाक काट्नु हो । यस घरका सदस्यहरू कुमाउँका राजा जगि चन्द र तिनका मान्छेसित भिड्न डराए पनि म चाहिँ एक्लै गएर तिनीहरूसित जुध्न सक्तछु । तपाईँहरू हातमा चुरा र कपालमा धागो लगाएर घरभित्र पर्दा हालेर बस्नुहोस् । म तरवार बोकेर दुश्मनसित भिड्न निस्कन्छु । तपाईँहरू सबै जनाको रक्षा म गर्छु । तपाईँहरू मर्न डराउनु हुन्छ । म चाहिँ अहिले नै मर्नु परे पनि हाँसी हाँसी मर्न तयार छु । बाँकी कुराको निर्णय जे गर्नु हुन्छ म केही भन्दिनँ तर अर्काको देशमा आएर आफ्नो स्वाभिमान बेच्न, झुक्न र लत्रन भने बाँचेसम्म मेरो परिवारका सदस्यलाई म दिन्नँ ।″

यसै क्रममा उनले भनिन्ः
”सल्लाको थाँक्रोमाथि काँक्राको बेली (लहरा) ।
रोकी रोकी युद्ध गर्छे कार्कीकी चेली (छोरी) ।।”

तिनका कुरा सुनेर सबैजना नाजवाफ भए । नभन्दै त्यस परिवारले कुमाउँनी राजासित भिड्ने र आफ्नो स्वाभिमान बचाउने काम गर्यो । राजा जगि चन्दका निकटका सारा सहयोगीको अन्त्य गरेर दुश्मनको हातबाट मर्नुभन्दा आपैmँले मृत्युवरण गर्नु उचित हुने विचार गरी तदनुरूप युद्ध कौशल देखाउँदै बिगा पनेरूको परिवारका सबै सदस्यले आफ्नो ज्यान आपैmँले समाप्त गरे । यो कथा डोटी क्षेत्रमा प्रचलित भारतमा आज पनि सुनाइन्छ । डोटेली वीर बिगा पनेरू, तिनकी भाइ बुहारी तथा तिनको सम्पूर्ण परिवारप्रति हार्दिक श्रद्धाञ्जली ।

(प्रा. जयराजपन्तका वैचारिक विरासत, पेज ३१४–३१५)

तस्विर: सांकेतिक

Loading...