नारीवाद : सधैं जटिल, अस्पष्ट र विवादित

मुख्य समाचार विचार विषेश समाचार

–प्रा. जयराज पन्त
आज अन्तरराष्ट्रिय नारी दिवस हो । संसारभरि नै यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउने परम्परा छ । नारी जातिको उन्नयनमा गरिने राजनीतिक, सांस्कृतिक, सामाजिक र आर्थिक क्षेत्रको चिन्तनमा आधृत भएर बहसमा आएको नारीवादका धरातलको एउटा विशेष कार्यक्रम अन्तरराष्ट्रिय नारी दिवस हो ।

अङ्ग्रेजी भाषाको फेमिनिज्म शब्दको नेपाली रूपान्तर नारीवाद हो । लैङ्गिक अवधारणामा केन्द्रित यो मूलतः राजनीतिक चिन्तन हो । सामाजिक व्यवहारमा सुधार, स्वस्थ समाजको निर्माण एवं शान्ति र स्थिरताका लागि यो चिन्तन अभियानका रूपमा अघि बढेको देखिन्छ । सामाजिक जीवनमा महिलालाई सबल बनाउनु नै यसको ध्येय हो । यसको प्रभाव आजको विश्वराजनीति, विश्वसाहित्य, विश्वआन्दोलन, लैङ्गिक सञ्चेतना र सामाजिक जागरणका क्षेत्रमा गहिरो रूपमा परेको पाइन्छ । यस विचारका अनुयायीहरू उदारवादी, अतिवादी, माक्र्सवादी, समाजवादी र यी सबैभन्दा भिन्न धारका पक्षपाती गरी आ–आफ्नो रुचिअनुसारको राजनीतिक दर्शनको प्रभावका कारण अनेक समूहमा बाँडिएका देखिन्छन् । फरक फरक धारका तिनीहरूका बीच चल्ने बहसले नारीवादलाई स्पष्ट गर्नको सट्टा झनै जटिल, अस्पष्ट र विवादित बनाएको छ । तसर्थ सर्वमान्य ढङ्गले यसलाई ठोस रूपमा परिभाषित गर्न गाह्रो छ । त्यसो हुँदाहुँदै पनि यसले गरेका आन्दोलनकै परिणाम स्वरूप आज लगभग विश्वभरि नै राज्य व्यवस्थाका प्रत्येक तहमा महिलाको पहुँच बढ्न थालेको देखिन्छ ।

सन् १७७७ मा अमेरिकी स्वतन्त्रता सङ्ग्रााम र सन् १७७८ मा फ्रान्सेली राज्यक्रान्ति भएदेखि नै अमेरिका र युरोपमा पुरुषको हैकमप्रिय मानसिकताका विरोधमा आवाज उठाउने प्रक्रिया सुरु भएको हो । यो अभियान विश्वका धेरै मुलुकहरूमा बिस्तारै पैmलन थाल्यो । सन् १९३९ देखि १९४५ सम्मका ६ वर्षसम्म चलेको दोस्रो विश्व युद्धले संसारमा अकल्पनीय नरसंहार गर्यो । त्यसको अन्त्यपछि पनि विकसित भनिने मुलुकमा व्याप्त अत्याधुनिक हतियार निर्माणको होड र राजनीतिक उतार चढावका कारण अर्को युद्धको सम्भावनामा मनुष्य जाति सन्त्रस्त भई रह्यो तथापि घरभित्र रहँदै आएका नारीहरू बाहिरको खुला वातावरणमा बिस्तारै निस्कन थाले । घर परिवारको आर्थिक जिम्मेवारी वहन गर्न, राजनीतिक क्षेत्रमा संलग्न हुन, योग्यता र क्षमताको विकास गरी राष्ट्र, समाज तथा परिवारको सेवामा लाग्न अब महिलाहरू अग्रसर हुन थाले ।

सन् १९६० पछि नारी मुक्ति आन्दोलनले विश्वमै नव जागरणको लहर ल्याउने काम गर्यो । सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको अन्तर्राष्ट्रिय नारी वर्षको कार्यक्रमअनुसार प्रत्येक वर्ष मार्च ८ तारिखका दिन संसारभरि नारी दिवस मनाउने परम्परा स्थापित भयो ।

नेपालमा पनि त्यसको प्रभाव परेका कारण सामाजिक एवं राजनीतिक परिवर्तन र विकास भएका घटना देखिएका हुन् । नारी जागरणका क्षेत्रमा संसारभरि आएका उत्साह सन्तोषजनक भए पनि नेपालमा यसले अपेक्षित गति लिन नसकेको देखिन्छ । मानव जीवनमा महिलाको अवस्था, अनुभव, स्थान, कार्य, योगदान, सहयोग र भावनाको निकै ठूलो स्थान छ । महिलाले भोग्ने, अनुभव गर्ने, बेहोर्नु पर्ने र सुल्झ्याउनु पर्ने कुरा पुरुषबाट हुन नसक्ने हुँदा जीवन र जगत्््का प्रत्येक क्षेत्रमा महिला सहभागिता, महिलाको विषयमाथि प्राथमिकता, महिलाले भोग्नु परेका समस्यामाथि बहस, महिला सञ्चेतनाजस्ता कुरालाई महत्त्व दिनु आवश्यक ठानिएको हो । महिलालाई उपेक्षित, अपहेलित, कमजोर, सामथ्र्य विहीन र शक्तिहीन मानेर व्यक्ति, परिवार, समाज, क्षेत्र, देश र विश्वकै लागि उसले खेलेको भूमिकाको अवमूल्यन गर्दा अन्याय हुन्छ ।

सन्दर्भः नारी दिवस

सन् १९६० को दशकदेखि संसारमा नारीवादी आन्दोलनले प्रभाव जमाउँदै जाँदा प्राकृतिक र सामाजिक विज्ञानमा घुसेको पुरुष पूर्वाग्रहलाई एक पक्षीय, अन्यायपूर्ण, गलत, स्वार्थ प्रेरित र नारी हितका विरुद्धको कार्य भन्ने स्वर चर्को रूपमा सुनिन थाल्यो । त्यस क्रममा महिलाको पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, वैयक्तिक, लैङ्गिक आदि अनेक थरी भूमिकाको स्थान खोज्न थालियो ।

नारीेप्रति राज्य, प्रशासन, व्यक्ति, समाज र समुदायले गर्नुपर्ने कर्तव्य, मानवीय व्यवहार र दिनुपर्ने जिम्मेवारी, सुविधा एवं अधिकारका कुरा नारीवादी चिन्तनमा पर्दछन् । नारीवादले उठाउने बहस पनि मानवीय मूल्यसित सम्बद्ध छ । संयुक्त राष्ट्र सङ्घले अनेकौं महासम्मेलनहरूका माध्यमबाट यस विषयका नीति र नियम विश्वव्यापी रूपमा परिपालन हुनुपर्ने कुरा पारित गरेको छ । नेपाल संयुक्त राष्ट्र सङ्घका मानव अधिकार सम्बन्धी सम्पूर्ण प्रावधानप्रति प्रतिबद्धता जनाउने मुलुक भएकाले नेपालमा यस विषयका बहस र ती बहसले अघि सारेका समस्याको समाधान गर्ने प्रयत्न राज्य स्तरबाट नै गर्न खोजिएको देखिन्छ । यस अभियानले पुरुष सरह महिलालाई धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, न्यायिक र व्यावहारिक अधिकार उपलब्ध हुनुपर्ने कुरामा जोड दिन्छ । व्यक्तिगत स्वतन्त्रता, मानवीय अधिकार, व्यक्तित्व विकासका अवसरहरूको समान प्राप्ति, विभेदको अन्त्य जस्ता कुरालाई पनि यसले महत्त्व दिन्छ । महिलाको स्वाभिमानको रक्षा, नागरिक अधिकार तथा न्यायिक हक जस्ता कुरा पनि यसमा पर्दछन् ।

आज विश्वभरि मनाइँदै गरेको नारी दिवसका उपलक्ष्यमा संसारका समस्त महिला र पुरुष सबैमा शुभकामना दिनुपर्ने हुन्छ । पुरुष बिनाको संसार तथा पुरुषको सहकार्य, सहयोग, सक्रियता र संलग्नता यस अभियानमा नारीकै बराबरीमा आवश्यक पर्ने हुँदा यहाँनेर लैङ्गिक विभेदसूचक शुभेच्छा दिन र महिलालाई मात्र सम्बोधन गर्न अनुपयुक्त ठानिएको हो । जय मातृशक्ति, जय महिला सशक्तीकरण अभियान ।
(जयराज पन्तका वैचारिक विरासत, पेज ३५४–३५६)

Loading...