हरियो तरकारी, दूध, अण्डा, कुखुरा र बङ्गुरको मासुमा आत्मनिर्भर भइसक्यौं : कृषिमन्त्री

कृषि मुख्य समाचार

काठमाडौं, २१ फागुन, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने, ‘अहिले पनि हामी धेरै कुरामा आत्मनिर्भर भइसकेका छौं । अरु कुरामा पनि आत्मनिर्भर गर्ने गरी काम गरिरहेका छौं । अहिले दूध, अण्डा, कुखुराको मासु, बङ्गुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भएका छौं ।’

मन्त्री खनालले खसी–बोकामा केही वर्षभित्र आत्मनिर्भर हुने दाबी गरेका छन् । त्यस्तै, उनले फलफूलमा नेपाललाई आगामी ५/६ वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा गरे ।

कृषिमा सरकारले दिँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नको लागि अध्ययन गर्न कार्यदल बनाएर काम भइरहेको पनि मन्त्री खनालले जानकारी दिए । उनले भने, ‘कृषिमा दिइएका अनुदानहरुलाई व्यवस्थित गर्नुपर्छ । अनुदानमा केहीमा हामीले पुनरावलोकन गर्नुपर्छ । केहीमा अनुदान बढाउनुपर्छ । आन्तरिक मात्रै होइन, वैदेशिक अनुदानलाई पनि चुस्त दुरुस्त बनाउनको लागि हामीले पहल गरेका छौं ।’

मन्त्री खनालले कर्णाली प्रदेशमा प्राङगारिक कृषि प्रणाली (अर्गानिक एग्रिकल्चर फाम) को केन्द्र बनाउने गरी स्थान चयन गरिसकेको सुनाए । त्यस्तै, आधुनिक कृषि प्रणालीको लागि उदयपुरको बेलका नगरपालिकामा मोडल फाम बनाउने तयारी गरिसकिएको पनि उनले जनाए । उनले भने, ‘त्यहाँ ७ हजार बिघा बाँझो जमिन रहेको छ, अब हामी प्राङगारिक र आधुनिक दुवै कृषि प्रणालीलाई द्रुत गतिमा अघि बढाउँछौं ।’

Loading...