माग पूरा नगरे सशक्त आन्दोलन

मुख्य समाचार शिक्षा

काठमाडौं, २० फागुन, अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले संघीय शिक्षा ऐनमा २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गरेको छ । समितिले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिका संरक्षक भरत केसीले यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २० बुँदे सहमति अक्षरंश पालना गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रा मागहरु समावेश गरिएका छैनन् । ती छुटाईएको कुरालाई ऐनमा समावेश गर्नुपर्छ । राहत, उमावि, विद्यालय कर्मचारीलगायत धेरै प्रकारका शिक्षकहरुलाई स्थायी प्रक्रियामा समावेश गर्नेगरि ऐनको मस्यौदामा आएको छ । तर, हामीलाई चाहीँ स्थायी दरबन्दीमा कार्यरत अस्थायी करार शिक्षकहरुलाई छुट्याईएको छ । यो हामीप्रतिको घोर अन्याय हो ।’

उनले देशभरि कार्यरत करिब १३ हजार अस्थायी करार शिक्षकहरुमाथि गरिएको अन्याय आफूहरुलाई मान्य नभएको चेतावनी दिए । उनले भने,’हाम्रा मागहरु सरकारले सुन्नुपर्छ । यदि सुनेन भने हामी सरकारविरुद्ध सशक्त संघर्षमा उत्रिन्छौं ।’

संरक्षक केसीले यसअघि पनि आफूहरुलाई शिक्षा ऐनको नवौं संशोधनको मस्यौदामा (२०६७ माघ १० गतेदेखि २०७३ चैत्र १९ गते) सम्मलाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला गर्नेगरि नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएको सुनाए । उनले भने,’तर, दुःखको कुरा यो कुरा संसदबाट काटियो, हामीमाथि सुनियोजित ढंगले अन्याय गरिएको थियो । अहिलेपनि अन्याय गर्न खोजिँदैछ । त्यस्तो नहोस् ।’

Loading...