बलात्कारको घटना लेनदेनमा मिलाउने प्रयास

मुख्य समाचार समाज

खोटाङ, २० फागुन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुव्र्यवहारको घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको छ । यौन दुव्र्यवहार भएको भन्दै फागुन १४ गते प्रहरी चौकी जालपामा निवेदन दिएकी पीडित युवती र उसका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दरखास्त दिन अस्वीकार गरेपछि यौन दुव्र्यवहारको घटनालाई आर्थिक प्रलोभनमा मिलाउने प्रयास भएको खुलेको हो ।

सुरुमा प्रहरीचौकीमा पिडकविरुद्ध निवेदन दिएकी युवतीले जाहेरी दरखास्त दिन भने आनाकानी गरेपछि सम्झाई–बुझाई गरेर कानूनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीचौकीमा निवेदन परेपछि बिक फागुन १५ गते पक्राउ परेका थिए । उनले पीडित युवतीमाथि फागुन १३ गते यौन दुव्र्यवहार गरेका थिए । घटनाले अझै पनि बलात्कारका घटनालाई आर्थिक प्रलोभनमा ढाकछोप हुने गरेको देखाएको छ । आरोपितले महिलाको संवेदनशील अंगमा छोएको र चुम्बन गरेको पीडित पक्षको भनाई छ ।

मिलापत्र गराउने षडयन्त्रकाबीचमा ढिलै भएपनि पीडक विरुद्ध मुद्दा दर्ता भएको अधिकारकर्मी एवम् पूर्वसभासद दुर्गाजयन्ती राईले बताईन् । यौन दुव्र्यवहारका घट्नलाई मिलापत्र गराउनमा केही स्थानीय नेता समेत लागिपरेको श्रोतको भनाई छ ।