भगवान शङ्करको पारिवारिक संरचना – स्व. जयराज पन्त

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

ज्ञानीहरू शास्त्रले बताएको, गुरुजनले देखाएको, नीतिले निर्देश गरेको, इतिहासले प्रमाणित गरेको र परम्पराले स्वीकृति दिएको बाटोमा हिँडने काम गर्दछन् । भगवान् शङ्करका क्रियाकलाप यस्तै आदर्शले भरिएका हुनाले तिनका कथालाई नमुना बनाई तिनलाई सारा विद्याका स्रोत मान्ने गरिन्छ । बुद्धिको बायाँ भागमा तर्क र दायाँ भागमा भावना रहेको कुरा विज्ञहरू बताउँछन् । यी दुवै पक्षको सन्तुलन मिल्न सक्यो भने मात्र उन्नति हुन्छ भनिन्छ ।

भगवान् शङ्करका बहुचर्चित लिङ्ग स्थापना गरिएका सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, परमेश्वर (ओंकारेश्वर), केदारेश्वर, भीमशङ्कर, विश्वेश्वर, त्र्यम्बक, वैद्यनाथ, नागेश, रामेश्वर र घुश्मेश्वरसमेतका बार वटा धामलाई द्वादश ज्योतिर्लिङ्ग र कैलाशलाई साक्षात् शिवलिङ्गका आकारमा विनिर्मित महाज्योतिर्लिङ्ग भनिन्छ । हजारौं नाम भएका भगवान् शङ्कर शिव, पशुपति, मृत्युञ्जय, त्रिनेत्र, कृत्तिवासा, पञ्चवक्त्र, शितिकण्ठ, खण्डपरशु, प्रमथाधिप, गङ्गाधर, महेश्वर, रुद्र, विष्णु, पितामह, संसारवैद्य, सर्वज्ञ, परमात्मा र कपाली पनि भनिन्छन् ।

भगवान शिवको वासस्थान मानिने कैलाश पर्वत

यी प्रत्येक नामका यिनी कैलाशमा एघार रुद्र; चौंसठ्ठी योगिनी; नव मातृका; चौरासी सिद्ध; भैरव, वेताल जस्ता अनेकौं गण; जया, विजया सहितका पर्याप्त सँगिनी सहितकी देवी पार्वती; पत्नी सिद्धि र बुद्धिका साथै छोरा शुभ तथा लाभ सहितका गणेश; पत्नी देवसेना सहितका कार्तिकेयलगायतका यथेष्ट परिवार जन; सहयोगी एवं भक्तहरूका साथ बस्दछन् । बाण, रावण, चण्डी, रिटि, भृङ्गी र प्रमुख द्वारपाल कीर्तिमुख भगवान् शङ्करका पार्षद हुन् । पार्षदलाई छोडेर भगवान् शङ्कर एक्लै बस्न सक्दैनन् । अझ आफ्नो वाहन नन्दी, देवी पार्वतीको वाहन सिंह, गणेशको वाहन मुसो र कुमार कार्तिकेयको वाहन मयुरका साथ यथेष्ट मिलजुल गरेर यिनी कैलाशमा बस्दछन् ।

नितान्त भिन्न प्रकृति र प्रवृत्तिका प्राणीलाई परिवारका सदस्य बनाएर बस्न सक्नुको अर्थ बुझ्नु नै भगवान् शङ्करलाई बुझ्नु हो । यहाँ भगवान् शङ्करको वासस्थान मानिने कैलाश पर्वतको दर्शनका क्रममा उत्तरी क्षेत्र र दक्षिणी क्षेत्रको दृश्य झल्काउने दुइटा चित्र प्रस्तुत गरिएको छ ।

(प्रा. जयराज पन्तका वैचारिक विरासत, पेज ३६-३८)

Loading...