फिल्म ‘जानी नजानी’ को प्रचार-प्रसार तीब्र

मनोरञ्जन मुख्य समाचार

पोखरा, १८ फागुन, फिल्म ‘जानी नजानी’ यूनिटले पोखरामा पत्रकार सम्मेलन गर्दै दर्शकलाई फिल्म हेरिदिन आग्रह गर्यो । फिल्म ‘जानी नजानी’ चैत १ गतेदेखि देशव्यापी प्रदर्शन हुँदैछ ।

‘फिल्म हेर्दा दर्शकले भरपुर मनोरञ्जनसहित केही सन्देश पनि प्राप्त गर्नुहुनेछ । र, केही फरक अनुभूति पनि दर्शकले गर्न सक्नुहुनेछ,’ पत्रकार सम्मेलनमा फिल्मका अभिनेता मनिष श्रेष्ठले भने । यो फिल्म नेपाली स्वादको भएको उनले दाबी गरे ।

‘विशेष गरी युवापुस्तालाई अरुको देखासिकी गर्नुभन्दा पनि आफ्नै शैलीको केही नयाँ काम गर्न फिल्मले सिकाउने उनले बताए । ‘यो फिल्म हेर्दा प्रत्येक दर्शकले त्यहाँको चरित्रसँग आफूलाई दाँज्न सक्नुहुन्छ । यहि कुरा नै फिल्मको सफलता हो भन्ने मलाई लाग्छ,’ श्रेष्ठले विश्वस्त हुँदै भने ।

फिल्ममा निरिषा बस्नेत, मनिष श्रेष्ठ, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतले अभिनय गरेका छन् । फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । फिल्म रोशनी इन्टरटेनमेन्ट्सको ब्यानरमा बनेको हो ।