उपकुलपति रौनियारलाई बर्खास्त गर्ने निर्णय

मुख्य समाचार विषेश समाचार शिक्षा

धरान, १८ फागुन, लामो रस्साकस्सीबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४२ औं बिशेष सञ्चालक परिषद (सिनेट) बैठकले उपकुलपति डा.राजकुमार रौनियारलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा शुक्रबार बसेको सिनेट बैठकले विगतको छानबिन समितिको प्रतिवेदनको आधारमा पदीय दायित्व पुरा नगरेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।

सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा सिनेट बैठक बसेको थियो । बैठकले उपकुलपति रौनियारलाई बर्खास्तको निर्णय गर्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिश गर्ने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले जानकारी दिए । ‘दुई वटा छानबिन समितिको आधारमा पदीय दायित्व पुरा नगरेको कारण बर्खास्त गरिएको हो’, सिनेट सदस्यसमेत रहेका रजिष्ट्रार श्रेष्ठले भने ।

सिनेटले उपकुलपति रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेपछि कार्यवाहक उपकुलपतिको जिम्मेवारी रेक्टर डा.गुरु खनालले पाएका छन् । प्रतिष्ठानको ४० औं र ४१ आंै सिनेटको निर्णय अनुसार एमसिएच भवन, अंकोलोजी, कार्डियोलोजी र एनएफआरएसबारे छानबिन गर्न यसअघि तीन वटा समिति गठन भएको थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री दिपक बोहराको पालामा गठित समितिले प्रतिवेदन दिन सकेन भने पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन दिएपछि पुनः स्वास्थ्यमन्त्री यादवको अध्यक्षतामा ३ सदस्यीय छानबिन तथा सुझाव समिति गठन गरिएको थियो ।

स्वास्थ्यमन्त्री यादव अध्यक्ष रहेको समितिमा प्रतिष्ठानकै रेक्टर डा.खनाल र रजिष्ट्रार श्रेष्ठ सदस्य रहेकाले यो समितिको छानबिनमाथि प्रश्न उठ्दै आएको थियो ।

Loading...