यही तालले सम्भव छैन ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’ !

मुख्य समाचार साहित्य

-डिल्लीराज अर्याल, हामी अर्काले कता लगाइदिन्छ त्यतै लाग्ने त्यसकै बखान गरेर हिड्ने देशका मान्छे । हाम्रा अगुवाले हामीलाई त्यसै गर्न सिकाए । त्यसै गर्न लगाए र हामी त्यसै गर्दै आयौँ । तिनलाई पनि त्यसै भन्न र गर्न लगाइएकाले होला त्यसै भन्दै र गर्दै आए । यो क्रम अहिलेसम्म जारी छ । अगुवाहरू त्यसै गर्दैछन् र हामी पनि त्यसै गर्दैछौं ।

हामीलाई सबैभन्दा पहिले खेलतिर लगाइयो । हामी खेल्नेतिर लाग्यौं । त्यतिबेला हामीलाई अरू कुनै कुरा चाहिएन । सबै कुरा छोडेर हामी खेल्ने भयौँ । खेल नै हाम्रो सबैथोक भयो । फेरि हामीलाई चिच्याएर नारा लाउनेतिर लगाइयो । हामी चिच्याएर नारा लाउने भयौं । हामी नारा लाउँदै हिड्न लाग्यौँ । नारा लाएर पुगेनछ क्यार, सत्तोसराप गर्न लगाइयो र हामी पनि खुशी भएर त्यतै लाग्यौँ । कुनैबेलाको सत्तोसरापमा प्रसिद्ध बनारसलाई पनि उछिन्न थालेका थियौं । हामी मजाले पारङ्गत पनि हुँदै गएका थियौं ।

विकासले गति लियो । आदेश थपियो। ज्ञानले बिस्तार हुने मौका पायो र अर्को आदेश आयो युद्धको । अनि हामी आदेशानुसार युद्धतिर पनि लाग्यौं । मजाले मर्न र मार्नतिर लाग्यौँ, सँगै सिद्धान्त फलाकेर लुटपाट गर्न पनि सिक्यौं ।

हामी खालिपछि लाग्ने भयौँ । खालि आदेश मान्ने भयौं । हाम्रा अगुवाहरू मालिक भए र हामी अनुचर! त्यसैले त हामी तिनले जता लगाउँछन् त्यतै लाग्ने भयौँ । तिनलाई सिकाउने र लगाउने अरू नै भए । हामीले त्यो बुझ्नेतिर लागेनौं । तिनले पनि हामीलाई राम्रो काम गर्ने, अरूको कुरा सुन्ने, तिनको विश्लेषण गर्ने र राम्रो नराम्रो विचार गरेर राम्रोतिर लाग्न सिकाएनन्, त्यतातिर लगाएनन् ।

देशका बारेमा सोच्न लगाएनन्, सिकाएनन् । भाषा, संस्कार, संस्कृति, श्रम तथा जीवनका बारेमा, घर परिवार, टोलछिमेकका बारेमा विचार गर्नुपर्नेतिर लगाएनन् । त्यस्ता कुरा सिकाउँदा पनि सिकाएनन्, र हामी त्यस्ता कुरातिर लागेनौँ । अहिले पनि हामी त्यस्ता कुरामा पोख्त छौं, लड्न परे, कुरा काट्न परे, गाली गर्न, विरोध गर्न र नारा लाउन, बन्द, तोडफोड, हडताल, तालाबन्द र सत्तोसराप गर्न अग्रसर भइरह्यौं । त्यस्ता कुरामा त हामीले दक्षता नै हासिल गर्यौं ।

हो, हामी लगाएर मात्र लाग्यौँ, सोचेर, बुझेर लागेनौँ । तिनैमा अभ्यस्त भयौँ जेजेमा हामी लगाइयौँ । हामीले आफै राम्रो र निश्चित बाटो खोजेनौं । सोचेर त्यता लागेनौँ, र त हामी त्यो गन्तव्यमा पनि पुगेनौँ जहाँ पुग्नुपर्थ्यो । जुन गन्तव्य बन्नुपर्थ्यो त्यो पनि बनाएनौँ ।

अब पनि गन्तव्य बनाउने, निश्चित गर्नेतिर लागेनौँ भने हाम्रो गन्तव्य कहिल्यै बन्ने छैन र हामी त्यहाँ कहिल्यै पुग्नेछैनौँ । त्यो सम्वृद्ध नेपालको सुखी नेपाली कहिल्यै बन्ने छैनौं ।

Loading...