हेलिकप्टर दुर्घटनाप्रति रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त

मुख्य समाचार राजनीति

काठमाडौँ, १५ फागुन, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युवा नेता एवं पर्यटन मन्त्री रविन्द्र अधिकारीलगायत सात जनाको हेलिकप्टर दुर्घटनामा परि निधन भएको खबरले स्तब्ध र मर्माहत भएको बताएका छन् । पौडेलले मिजासिला र भद्र व्यक्तिका रुपमा बेग्लै राजनीतिक छवि बनाएका मन्त्री अधिकारीको निधनमा सरकार, नेपाल कम्युनिष्ट पार्टी र उनको परिवार एवं शुभेच्छुकप्रति गहिरो समेवदना व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले भने, ‘दुर्घटनामा ज्यान गुमाउनुभएका यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको छ । मृतक सबैको आत्माको चिरशान्तिको कामना एवं शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’