[दर्शन] पुण्य र पाप– शीतल गिरी

मुख्य समाचार विचार विषेश समाचार

नियमवादी होइन, व्यवहारवादी बन्नुपर्छ । नियमवादी बन्दा धेरैजसो काम खराब लाग्दछ र राम्रो काम नगन्यमात्र देखापर्छ । ब्यवहारवादी खोजी–खोजी खराबको पछि लाग्दैन । नियमवादीको लागि त कतिपय काम हरेक अवस्थामा खराब लाग्छ । ब्यवहारवादीको नजिकमा पाप र पुण्य कर्मद्वारा तय गरिने होइन, पाप र पुण्य दुई विपरीत हुन् । शास्वतको आधारमा पाप र पुण्य चिन्नु पर्दछ । जुन काम मानिसले जागरुकतापूर्वक गर्दछ, त्यही पुण्य हो । जस्तो क्रोध पाप हो अथवा पुण्य ? यदि क्रोध जागरुकतापूर्वक गरिएको छ भने त्यो पुण्य हो । स्थिति बुझ्नुपर्छ ।

यदि आमा आफ्नो सन्तान उपर क्रोध गर्छिन्, त्यो पाप नहुन पनि सक्छ । शायद क्रोध नगर्दा छोरा–छोरी बिग्रिन पनि सक्छ । प्रत्येक परिवारमा प्रत्येक आमाले आफ्नो सन्तान उपर क्रोध गर्ने गरेको थियो, छ र हुने नै छ । यी मध्ये एकदम थोरै आमाले मात्र क्रोधमा पाप समावेश गर्छिन् । आमा दयाकी सागर हुन् । प्रत्येक युगको प्रत्येक ठाउँका आमा ममतामयी नै हुन्छिन् । आफ्ना सन्तान सुमार्गमा लागून भन्ने चाहना उनीहरूको मनमा रहेको हुन्छ ।

आमाहरूका क्रोध पनि पुण्यमय हुन्छ । उनीहरूका क्रोध सन्तानलाई सुमार्गमा लगाउनका लागि हुन्छ, कुमार्गमा धकेल्न होइन् । त्यसैले त योग्य छोराहरूले आमाको ममता जीवनभर सम्झिरहन्छन् । यो नियमगत कुरा होइन, सन्तानले जहिले पनि जननीलाई सम्झनै पर्ने, यो सन्तान र जननीबीचको वैयक्तिक लेनदेन पनि होइन तर आमाको अमूल्य ममता, भावनामयी, कर्तब्य परायण योग्य सन्तानले कहिल्यै बिर्सन्न, जागरुकतावश सम्झिरहन्छ, जागरुक छ भने ।

शीतल गिरी

यसकारण जननी सबैभन्दा महान हुन्छिन् । तर लम्पट सन्तानले ममताको अनुभूति सङ्गालेर राख्न सक्दैन । पाप र पुण्य ब्यवहारलाई पहिचान गर्नुपर्छ । नियमको आधारमा मात्र पाप र पुण्य छुट्याउन सकिदैन । रात–दिन, घाम–छाया र नङ–मासुजस्तै हो पाप र पुण्य । जुन कुरो असहज छ सजिलै प्राप्त गर्न सकिदैन, त्यसतर्फ राम्रो होला नै भनेर आकर्षित हुनुहुँदैन । असहज कुरो, अप्राप्त कुरोमा अहङ्कार भेटिन्छ ।

सगरमाथामा चढ्न प्रयास गर्नेले घरको चिन्ता लिनु ठीक होइन । स–साना थुम्कामा सबै चढ्न सक्छन्, चढनु साधारण कुरा हो । आकर्षक छ, मनमोहक छ सगरमाथा तर सबै चढ्न सक्दैन, चढ्न असहज छ, कठिन छ र त चढ्नेहरूले ख्याति कमाउँछन् । ख्यातिको अर्को नाम घमण्ड हो । नजिकको तीर्थ हेला, यसकारण जुन सहज र सुगम हुन्छ, प्रायः त्यो छुट्न सक्छ र आकाशको तारा टिप्न लालायित हुन्छौं । मानिसहरू प्रायः त्यो आफूलाई हेर्दैनन्, आफूलाई हेर्नुपर्छ, सोच्नुपर्छ । चन्द्र धरातलमा पुग्नु यन्त्र विज्ञानको अद्भूत विजय हो । मानव मस्तिष्कको सही परिचालन हो । तर नेपालका हामीले बाँच्न सक्ने स–साना आधारभूत कुराहरूसम्म आफ्नो बलबुतामा बनाउन सकेका छैनौं । रुघा, खोकीबाट जसरी सहजरुपबाट मुक्ति पाउन सकिंदैन, त्यसैगरी गलत सोच मनमा पालेमा शंका हरहमेशा उब्जिरहन्छ । अहंकारलाई चुनौती बनाउँदा जीवन सुखमय नहुन पनि सक्छ, जीवन सुखमय बनाउन अहंकारलाई त्याग गर्नुपर्छ । अहंकार त्यागेमा आफूलाई चिन्न सकिन्छ । आफूलाई नचिन्ने व्यक्तिले यस भौतिकवादी संसारमा जतिसुकै प्रगति गरेपनि त्यो साँचो अर्थमा प्रगति ठानिँदैन ।

यसकारण सहजको गहिराई बुझ्न सक्नुपर्छ— जुन सुगम छ, त्यही साधना हो । आफ्नो जीवनलाई अत्यन्त सुगम बनाउनुपर्छ, कामचोर अथवा अल्छीतिघ्रे जोगी बन्छ भनेको सुनिन्छ, जोगी बन्नु बडो गाह्रो कुरा हो । त्यस्तै टाउको टेकेर उभिनु, एउटै स्थानमा खडा हुनु, असुखकर ओछ्यानमा सुत्नु, घाममा उभिनु, जाडोमा कठ्याङ्ग्रिनु नाङ्गै बस्नु पनि गाह्रो हुन्छ— मानव जीवन त सुगम छ, सरल छ । नैसर्गिक बन्नु पर्दछ साथै अहङ्कारको आकाशमा रम्नु हुँदैन, भ्रमणमा निस्कँदा अचानक कालो बादल मँडारिएर पानी पर्न सक्छ । यदि पानीबाट ओतिने बस्तु बोकेको छैन भने ओत लाग्नै पर्दछ, ओतलाग्ने ठाउँमा जे–जे कुरो हुन्छ, त्यसमा स्वतः नजर पर्दछ ।

त्यहाँ राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुन सक्दछ । जहाँ राम्रो हुँदैन, त्यहाँ राम्रोको चाहना राख्नु व्यर्थ हो । जस्तो हुनुहुँदैनथ्यो, त्यस्तै भइरहेको हामी पाउँछौं । हामी आफ्नो स्वभाव अनुकूलको संसारहोस् भन्ने चाहना राख्छौं । सजिलै उपलब्ध हुने सरल, सत्य कहिलेकाहीँ जटिल बन्न पुग्छ । सोझो र सरल कुरा बुझ्नका लागि कुनै ठूला पण्डितको आवश्यकता पर्दैन । प्रत्येक ठाउँमा सबै किसिमका चलाख ठग पनि हुने गर्छन् । प्रत्येक ठाउँमा विरोधीहरू पनि रहने गर्दछन् । जहाँ राम्रो चिकित्सक रहन्छ, रोगीहरूका घुइँचो त्यहाँ रहने गर्दछ । चिकित्सक प्रायः सुविधासम्पन्न ठाउँमा रहने गर्छन् । रोगीहरूले चिकित्सकलाई भगवान ठान्दछन् । चिकित्सक शब्द प्यारो छ, यसको अर्थ हो, रोगीलाई उपचारगरी रोगमुक्त बनाउने । तर धन पिपासुलाई कत्तिकै आदर गर, त्यस्ताले शब्दको गरिमा बचाउन सक्दैन । केही चिकित्सकहरूले आफूलाई जीवनदाता ठान्ने भूल गर्छन् । कति मीठो शब्द छ, चिकित्सक, डाक्टर । तर केही ठग यानी डग बनी विरामीको असहाय अवस्था बुझी धनको खातीर टोक्न पुग्छन् । नेपालका केही चिकित्सक, डाक्टरहरूले अहिले पनि आफ्नो व्यवहारले त्यही देखाएका छन्— यो गरिमामय शब्द सेवाको लागि नभई व्यापारको लागि हो । सेवा गर्नेहरूले मेवा खोज्न थाले भने त्यसले व्यापारको रुप लिन्छ । सेवा गर्ने भाव भुल्छ, अरूबाट पुजनीय बन्न चाहन्छ ।

अरुका धन सोहर्छ यानी ऊबाट पुण्यको काम भइरहेको हुँदैन, पाप गरिरहेको हुन्छ, डाक्टर शब्द त राम्रो हो तर गलत मानिसले यसलाई डग बनाएको हुँदा विरामी नपरी जान जो कोही हिचकिचाउँदछन्, कुपात्रमा अमृत हालियो भने त्यो बिष बन्न पुग्छ, केही ठगको व्यवहारले डाक्टर शब्द ममताको सागर बन्न दिएको छैन, चिकित्सकहरूले सम्झनु पर्ने हो— ऊ सामान्य मानिसभन्दा भिन्न होइन र उसले सेवा गरेर सम्मान पाउनु पर्छ । त्यो सम्मानको गरिमा चिकित्सकको व्यवहारबाट बढ्न सक्छ, सम्मान र गरिमा एक–अर्काका पूरक हुन्— आज चिकित्सक नोकरशाहको घरको सदस्य बन्छ, सामन्तका छोरा बन्छ, त्यसैले डाक्टर गडबाट डगमा परिणत हुँदैछ, सामान्यजनका छोरा पढाइको आधारमा राज्यले निःशुल्क चिकित्सक उत्पादन गर्न सकेको भए चिकित्सा क्षेत्र सेवामुखी नै हुने थियो, किनभने अभावको अनुभूति गरेकाले नै अनुभवको आधारमा सरल, सुलभ उपचार गर्ने थियो ।

सेवाभावको लागि चिकित्सक शब्द बहुमूल्य हो । सेवामा जुन आत्मीयतारुपी मेवा पाइन्छ, त्यसको कुनै मूल्य लगाउँन सकिंदैन, यस अर्थमा पनि चिकित्सक डग बन्नु हुँदैन । कर्तब्यपथको नाम नै साधना र ध्यान हो— कसैले फिस दियो भने प्रसन्न हुनु ठीक होइन, त्यो प्रसन्न कतिञ्जेलका लागि ? कसैले पर्याप्त रकम दियो भने धन्यवाद दिँदै राम्ररी परीक्षण गर्न सुहाउँदैन चिसित्सकलाई । फिस दिन नसक्नेलाई वेमनले परीक्षण गरेकोजस्तो गरी झाराटार्नु ठीक होइन, जसले फिस दिनसक्दैन सकभर त्यस्ता नआओस् भन्ने चाहना राख्ने चिकित्सक पुण्य होइन पाप कमाइरहेको हुन्छ ।

महाकवि देवकोटाजस्ता मानवतावादी भावनामयी चिकित्सक हुने थिए— जसले विरामीलाई रोगमुक्त बनाउन चिन्तन गर्ने थिए, चिकित्सकको मायाले विरामीको मनोबल बढ्छ, मनोवल टुटेमा, निरास भएकालाई औषधि र उपचारले केही लछारपाटो लगाउँदैन— हो ‘थाहा’ पाउनु पर्दछ, अन्धकार हटाउन चाहनेहरू शोषक बन्नुहँदैन, परिश्रम नगर्नेलाई संसारमा रमण स्मरण गर्ने छुट दिनुहुँदैन । प्रमुख कुरा हो परिश्रम, शोषणबाट छुटकारा दिलाउँछ परिश्रमले, तर आज काम गर्ने भोकै पर्छ, काम नगर्ने मोज गर्छ, यसकारण राज्यले परिश्रम गर्नेको सम्मान गर्नुपर्छ, परिश्रमीहरू भएमा मात्र नेपाल नेदरल्याण्ड, जापानजस्तो बन्न सक्छ, राम्रो कामको थालनी दश, पचास मानिसबाट थालनी गरे पनि हुन्छ, कुनै अप्ठ्यारो छैन ।

राज्य सञ्चालक शोषक, स्वार्थी बन्नु भएन बस् । तर थोरै परिश्रमले पनि नेपालीहरूको पेट भरिने छ, भरिएको पेटले राम्रो कुरा सोच्ने छ, विदेशीको कमारो बन्नुपर्ने छैन, सोचेको सबै कुरो राम्रो हुँदैन । हाम्रो ठूलो दाइ हिन्दूस्तानले आफ्ना भाइहरूप्रति कहिल्यै राम्रो सोच बनाएन, तर हामीले त्यस्तो नीच सोच भने राख्नुहुँदैन, हाम्रो सोचको नराम्रो असर छिमेकीहरूमा कदापि पर्नु हुँदैन, छिमेकी भन्दा धेरै प्रगति गर्यो भने पनि खतरा हुन्छ ।

र्याल चुहाउने स्यालको नजिक बसेमा घर गृहस्थी चलाउन धेरै कुराको विचार गर्नुपर्ने हुन्छ । आफू नामर्द भयो भने छिमेकीले जे भन्छ त्यो, मान्नै पर्छ, मानिरहेका पनि छौं । नुन हामी खान्छौं, जसले नुन दिन्छ, त्यसको बिपरीत जान नसकेको हुँदा कोशी, गण्डकी र महाकाली सुम्पिसक्यौं, कर्णाली सुम्पिन बाँकी छ । नुन खाएको कुखुराले परिवर्तन ल्याउन सक्दैन, नुन संस्कृति, भेषभूषा, छोरीचेली, धर्म, माखे साङ्लो हो ।

Loading...