कोरिया पठाइदिने भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार

काठमाडौं, १३ फागुन, वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने सिन्धुपाल्चोक शिखरपुरका ५५ वर्षीय भरत भन्ने भिमप्रसाद दाहाललाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको छ ।

२०७३ जेठ २४ गते वैदेशिक रोजगारको ब्यवसाय संचालन गर्ने ईजाजत(पत्र विना नै आकर्षक रोजगारीको लागि दक्षिण कोरिया पठाईदिने प्रलोभन देखाई हेमलाल गौतमबाट ३ लाख ५० हजार प्राप्त गरी वैदेशिक रोजगारमा नपठाई प्राप्त गरेको रकम फिर्ता नगरी ठगी गरेका थिए ।

वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ पुस ३० गतेको फैसलाले १ लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर भएकोमा भिमप्रसाद उक्त सजाय वेरुजु रही भागी फरार रहेका थिए । उनलाई हर्जाना सहितको बिगो रकम ५ लाख २५ हजार दिलाई दिने फैसला समेत भएको थियो ।

भिमप्रसादलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि आइतबार केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।