आयल निगमका कर्मचारीलाई साबुनसम्मको सुविधा

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, १३ फागुन, नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा खर्च एक सय रुपैयाँ पाउँछन् । विदेश भ्रमणका नाममा भारत जाँदा पाँच हजार र अन्य मुलुक जाँदा सात हजार लुगाभत्ता बुझ्छन् । बिमा, चाडवाड र उपचार खर्चको पनि छुट्टै व्यवस्था छ ।

१५ दिनअगाडिसम्म निगमले प्रतिदिन करिब आठ करोडसम्म नाफा कमाइरहेको थियो । यो अनुपात कायमै छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागे पनि पुरानो घाटा पूर्ति गर्ने भन्दै निगमले मूल्य समायोजन गरेको छैन । सार्वजनिक संस्थानमध्ये सबैभन्दा आकर्षक तलबभत्ता निगमकै कर्मचारीले बुझ्छन् । निजामती कर्मचारीको तुलनामा उनीहरूको सुविधा कम्तीमा तेब्बर बढी छ । पछिल्ला चार वर्षमा निगमको प्रशासनिक खर्च ९४५ ले वृद्धि भएको छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार आव ०७०र७१ मा ५० करोड ७० लाख रहेको खर्च ०७४र७५ मा ९८ करोड ३६ लाख पुगेको छ । (स्रोतः नयाँपत्रिका)