नयाँ नेपाल ‘कन्या’ कपाल ! – डिल्लीराज अर्याल

मुख्य समाचार विचार

हिजो गणतन्त्रका गफ हाँक्नेहरू मध्येका धेरैलाई हेरेँ । आज तिनलाई मैले आफैं भेटेँ । तिनको शिथिलता देखेर मलाई कौतुहल भयो र सोधेँ – हैन आज तपाईँलाई के भयो ? खै हिजोको उत्साह ? खै ती क्रान्तिका कुरा ? खै आज त्यो प्रगतिवाद? खै तपाईँको लोकतन्त्र ? अनुहारमा हिजोको ऊर्जा किन रहेन ?

उनले दु:ख मानीमानी भने- ‘हाहा गयो हिही गयो भात खाने हातै गयो’ भन्थे बुढाहरूले । त्यस्तै भयो । धेरै के भन्नु ? सबै कुरा अगुवाहरूका व्यवहारले भनिसके? मैले अथवा हामीले भन्न पर्ने कुरै केही रहेन ।

उनी मभन्दा उमेरमा अलि नै कान्छा छन् । लगभग डेढ\दुई दशक जतिले नै कान्छा । मान्छे एकदमै उत्साही पनि हुन् उनी, तर अचेल उनको उत्साह पनि गणतन्त्रले खाए जस्तो छ । अब पहिले जस्तै उफ्रन छाडेका छन् उनी । अलि अघिसम्म त उनको उत्साह बयान गर्न लायकै थियो तर अब त भन्न थालेका छन्– नयाँ नेपाल भने । नयाँ व्यवस्था भने । के भनेनन् र ? सबैथोक आउने, पाइने आशामा हामीलाई दगुराए । हामी विश्वासमा दगुर्यौँ पनि, तर आयो के ? पाइयो के ?

अहिले उनीतिर यसो हेर्छु र सोच्छु – के फेरियो ? त्यसको लेखाजोखा गर्छु । मेरो हेराइमा त विश्वास गयो, इमानदारी गयो, आपसी भाइचारा गयो, आफ्ना संस्कार, संस्कृति गए, जाँदैछन् । मेहेनत गयो, खेतीपाती गयो, आफ्नै खेतबारीका बीउ बिजन गए ।

अनि आउने कुरातिर हेर्छु र सोच्छु । केके आए त ? मेरो बुझाइमा त जम्मै अर्कैको राइँदाइँ, खटनपटन आयो । सबैतिर बेइमानी आयो । कामचोरी आयो । बेसाहा आयो । राम्रो लायो मिठो खायो… । फेसन आयो, टेन्सन आयो । अरूकै इशारा आयो । उपदेश आयो । आफू, आफ्नो, भन्ने कुरा सबै लाखापाखा लागे, लाग्दैछन् । अर्काको हलोजुवा बोकेर अर्कैको खेती गर्ने दिन आए । आफ्ना बाँझै राखेर रमिता हेर्ने दिन आए । भ्रष्टाचार आयो । बेइमानी आयो । अर्काका संस्कार, अर्काका भाषा आए । धेरै थोक आयो ।

सोच्दै थिएँ, उनी उठेर हिड्न थालेका रहेछन् । यसो हेरेँ । टोपी माथि सारेर कपाल कन्याउँदै थिए । उनी आफैं पनि निराश जस्ता थिए । तिनी र तिनीजस्ता थुप्रै उत्साही कार्यकर्तामा जोश भर्ने कुनै अगुवा भए जस्तो लागेन । त्यसैले त उनी पनि निराश भएका होलान् ।

धेरै कुरा भन्न मन थियो मलाई, तर भनिन तैपनि लाग्यो – नयाँ नेपाल ‘कन्या’ कपाल ! पो भएछ त !

Loading...