प्रधानमन्त्रीज्यू समयको ख्याल पत्रकारले मात्रै गरिदिनु पर्ने हो ?

मुख्य समाचार विचार विषेश समाचार

डिल्ली रमण सुवेदी, काठमाडौँ, १२ फागुन, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयमा गरिने छलफल कार्यक्रम भनेर आइतबार बिहान ११ बजे पत्रकारहरुलाई निम्ता गरिएको थियो । कार्यक्रम थियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा । म बिहान १० बजेर ५८ मिनेटमा कार्यालयको ढोकामा पुगेँ । कार्यक्रम सुरु नभएको र कोही पनि आइनपुगेको सुरक्षाकर्मीहरुले जानकारी दिए । म बाहिरै बसेँ । केही बेरमा नेशनल न्यूज एजेन्सीका साथी आइपुगे हामी गफीँदै, कार्यालयको फोटो, भिडियो खिच्दै बस्यौँ । केही बेरमा अरु ३र४ जना पत्रकार साथीहरु पनि आए ।

कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल र सदस्य डा. दिल बहादुर गुरुङ तथा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठको पनि सहभागिता रहने कार्यक्रम थियो । यसैगरी सो कार्यक्रममा भागलिन सचिवहरु डा. युवकध्वज जिसी, प्रकाश माथेमा र गोपीनाथ मैनालीको पनि उपस्थिति रहने कार्यक्रम थियो । यसैगरी ७ जना सहसचिवहरु तथा कृषि, पशुपन्छि, भूमि, सहकारी आदि विभागका महानिर्देशकहरुको पनि सहभागिता रहने उल्लेख गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूको विवरण


आमन्त्रित महानिर्देशक, सहसचिव, सचिव, मन्त्रीहरु क्रमशः ११ः३० बजेसम्ममा आइसके । प्रधानमन्त्री ‘सवारी’ भएपछि कार्यक्रम सुरु हुन्छ भन्ने जानकारी प्राप्त भयो । केही समयपछि पत्रकारहरु कतिजना छन् भनेर गन्ने काम पनि कार्यालयकै एक कर्मचारीले गरे । हामी जम्माजम्मी १० जनाजति पत्रकार त्यहाँ उपस्थित थियौँ । अब भित्र छिर्न पाइने भयो भन्ने आशा पलायो तर छिर्न पाइएन ।

बाह्र बजेसम्म पनि कार्यक्रम सुरु नभएपछि सोधखोज गर्दा पुरानै जवाफ आयो ‘प्रधानमन्त्रीको सवारी भएपछि कार्यक्रम सुरु भइहाल्छ’ तर प्रधानमन्त्रीको ‘सवारी’ हुने अत्तोपत्तो थिएन । पर्खदा पर्खदै १२ः३० भयो । प्रधानमन्त्री आउने छेकछन्द बुझिएन ।

प्रधानमन्त्री कार्यालय बाहिर कुरेर बसेका पत्रकारहरु

सामान्य प्रशासन मन्त्रालयमा ‘विदेश भ्रमण गर्ने कर्मचारीहरुको विवरण’ लिनु थियो । त्यहाँ पुगेर आउँदा ठिकै होला भनेर उता लागेँ । सूचना अधिकारी खोज्दै जाँदा उनले सम्बन्धित विभागमा पठाइदिए । विभागले प्रवक्ताको अनुमति खोज्यो । प्रवक्ता सहसचिव सुरेश अधिकारीको स्वीकृति लिएर पुनः सम्बन्धित शाखाका बन्धुप्रसाद बाँस्तोलाले अर्को शाखामा सिर्जनालाई भेट्न भन्नु भयो । सिर्जनाले विवरण प्रिन्ट गरिदिइन् फेरि रुजु गराउन बाँस्तोला सरकै कार्यकक्षमा पुगिन् । रुजु भएर मैले विवरण पाउँदा झण्डै आधाघण्टा बितेको हुँदो हो, हतार हतार प्रधानमन्त्रीको सवारी भयो होला भनेर म त्यता तिर दौडिएँ ।

प्रधानमन्त्रीको त सवारी भइसकेछ । अरु पत्रकार साथीहरु भित्र पसिसकेछन् । हामी बाहिर पर्यौँ नयाँ पत्रिकाका पुष्प कोइराला, रातोपाटीका शम्भू दंगाल, आजको खबरको म र रमेश हुतवाली । कार्यक्रम ३ मिनेटअघि मात्रै सुरु भएको रहेछ । भित्र पस्ने अनुमति माग्यौँ । गेटबाट छिर्न निक्कै हम्मे पर्यो । भित्रबाट फेरि भित्र सोध्नु पर्ने उर्दी आयो । भित्रबाट कार्यक्रम सुरु भइसक्यो अब मिल्दैन भन्ने झन् खरो उर्दी आयो । हामीलाई भित्र छिर्न नदिने नै भन्ने आशय व्यक्त गरियो ।

बिहान ११ बजेदेखि १२ः३० बजेसम्म डेढ घण्टा बाहिर कुरेको नदेख्ने, तीन मिनेट ढिला हुँदा छिर्न नदिने ? यो कस्तो नियम हो ? हामी डेढ घण्टा पर्खिएको होइन भने होइन भन्नुहोस् भनेर केही समय त दबाब सिर्जना गर्यौँ । पहिले पत्रकारको रुजु गर्ने कर्मचारीले शीरदेखि पाउसम्म हेरेकै थिए । उनैलाई पनि माथिको आदेश आयो भित्र नपठाउनु भन्ने । सुरक्षाकर्मीसँग बोल्नुको औचित्य हुँदैन भनेर हामी बाहिर निस्कियौँ ।

आजै जापानका मन्त्री तीन मिनेट ढिलो कार्यक्रममा पुग्दा विरोधको सामना गर्नु परेको र क्षमायाचनासमेत गर्नु परेको समाचार आयो । जापानको ओलम्पिक्स मामिला मन्त्री योशिताका साकुरादा संसदीय बैठकमा तीन मिनेट ढिलो पुग्दा उनले माफी मागरे लज्जीत बन्नु परेको थियो । तर सोही दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली २ घण्टा ढिलो कार्यक्रम स्थलमा पुगे । ढिलो पुग्दा पनि छाती फुलाएर पुगे, उनलाई कुनै ग्लानी छैन । मन्त्री, सचिव, सहसचिव वा अन्य सहभागिहरुको पनि अन्यत्र कार्यक्रम थियो होला । मन्त्रालय वा कार्यालयमा काम थियो होला । उनीहरुको चाहिँ ख्याल गर्नु पर्दैन ?

समयको ख्याल प्रधानमन्त्रीले चाहिँ गर्नु पर्दैन ? कि पत्रकारले मात्रै गर्नु पर्ने हो ? प्रधानमन्त्रीले भनेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ आउने बाटो यही हो ? लोकतान्त्रिक सरकारको मिडियाप्रति हेर्ने दृष्टिकोण यहि हो ? यी यावत् प्रश्न हालसम्म अनुत्तरित नै छन् ।

निजी मिडियाप्रति अनुदार प्रधानमन्त्री
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा निजी मिडियालाई हरेक पटक नकारात्मक तरिकाले हेर्ने गरिएको छ । सीधै भन्दा निजी मिडिया वा अनलाइनहरु नआइदिए हुन्थ्यो भन्ने प्रष्टै देखिन्छ । किनकी कुनै पनि कार्यक्रम सुरु गर्नुभन्दा अघि एनटिभी छ कि छैन जाँच गरिन्छ । एनटिभी भए कार्यक्रम सुरु हुन्छ नत्र सुरु नै हुन्न ।

प्रधानमन्त्रीको र निजी सचिवालयको व्यवहारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा निजी मिडियाहरुलाई दोस्रो दर्जामा राख्ने गरिएको छ । सचिवालयमा मिडिया बुझेकै डा. कुन्दन अर्याल, चेतन अधिकारीजस्ता व्यक्तिहरु छन् तर पनि उनीहरुको सोच किन फरक परिरहेको छ ? यो बुझ्न सकिएको छैन । यसको जवाफ आउने पनि छैन ।

Loading...