डा. शर्मालाई ‘जसराज किराती प्रतिभा पुरस्कार’

मुख्य समाचार विषेश समाचार साहित्य

काठमाडौँ, १० फागुन, जसराज किराती प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘जसराज किराती प्रतिभा पुरस्कार’ दाङकी कवि तथा समालोचक डा. विन्दु शर्मालाई प्रदान गरेको छ । शुक्रबार नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा डा. शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा-प्रतिष्ठानका कूलपति गङ्गा प्रसाद उप्रेतीले उक्त पुरस्कार हस्तान्तरण गरे । पुरस्कृत डा. शर्माको बारेमा डा. भक्त राईले प्रकाश पारेका थिए ।

कविता, निबन्ध, कथा तथा समालोचनाका माध्यमबाट नेपाली साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत डा. शर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष रक्ष राईले बताए ।

वि.संं. २०३३ साल वैशाख १८ गते दाङको उरहरीमा जन्मिएकी डा. शर्माका ‘गीतिनाट्य परम्परामा राष्ट्रकवि घिमिरे’, ‘आधारभूत नेपाली समालोचना’, ‘भीमनिधि तिवारीः सिर्जना र धरातल’, ‘आदिकवि भानुभक्तः समसामयिक आँकलन’, ‘विश्वेश्वर कोइरालाः समीक्षा र सम्झना’, ‘नेपाली समालोचनाका नवीन आयाम’ समालोचना र ‘समसामयिक प्रगतिवादी नेपाली कथा’ सम्पादनसमेत गरी ७ पुस्तक प्रकाशित छन् । यसैगरी उनको एक कविताकृति प्रकाशोन्मुख छ । प्राध्यापन पेशामा आवद्ध उनी साहित्यिक अभियन्तासमेत हुन् ।

Loading...