काठमाडौँमा चिनिया क्यालिग्राफी तथा चित्रकला प्रदर्शनी

कला/संस्कृति मुख्य समाचार

काठमाडौँ, ९ फागुन, चीनबाट आएका कलाकारहरुले काठमाडौँमा चिनिया क्यालिग्राफी (हस्तलिपि कला) तथा चित्रकला प्रदर्शनी गरेका छन् । चीन अन्तर्राष्ट्रिय चित्रकला तथा क्यालिग्राफी समाजबाट आएका २१ जना कलाकारहरुले महाराजगञ्ज स्थित चाइना कल्चर सेन्टरमा सो प्रदर्शनीको आयोजना गरेका हुन् ।

चिनिया कलाकारहरुले बनाएका सय भन्दा बढी चित्र तथा क्यालिग्राफी आर्टले केन्द्रको परिसर रङ्गिचङ्गी बनेको थियो । विभिन्न कलाकृति, सांस्कृतिक महत्वका वस्तुहरु तथा दृश्यहरु चित्रमा उतारिएको थियो । साथै चिनिया हस्तलिपि कला पनि प्रदर्शन गरिएको थियो । कलाकारहरुले चिनिया कला तथा क्यालिग्राफीको लाईभ डेमो समेत प्रदर्शन गरेको थिए ।

शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले आयोजित सो प्रदर्शनीमा काठमाडौँको बाँसबासी स्थित चाँदवाग स्कूलका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो । स्कुलका सहायक प्रिन्सिपल एस.के. थपलियाको नेतृत्वमा आएका विद्यार्थीहरुले सो प्रदर्शनी तथा प्रत्यक्ष डेमोस्ट्रेसनको अनुभव लिएका थिए ।

चाइना कल्चर सेन्टर, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद् र चीन अन्तर्राष्ट्रिय चित्रकला तथा क्यालिग्राफी समाजले संयुक्त रुपमा सो प्रदर्शनीको आयोजना गरेका हुन् ।

यो प्रदर्शनी आकारमा सानो भए तापनि यहाँ समावेश गरिएका कलाको दायरा धेरै व्यापक भएको र यसको कलात्मक स्तर धेरै उच्च रहेको नेपाल–चीन शैक्षिक तथा सांस्कृतिक परिषदका अध्यक्ष डा. हरिशचन्द्र साहले बताए । यो क्यालिग्राफी कला तथा चित्रकला वास्तवमा कलाक्षेत्रको आशाको ताराहरुको रुपमा लिनसकिने डा. साहले बताए । उनले भने, ”कलाकारहरुले आ–आफ्नो हातमा रङ्गिन कुचीको मद्दतले मित्रताको गहिरो सम्बन्ध कोरेका छन् । क्यालिग्राफी कला, चित्रकला तथा थाङ्कामा उच्च कलात्मकता, रंगीन समिश्रण, प्रष्ट रेखाले नेपाल–चीनको पारम्परिक मित्रताका साथै असीम भविष्यको गहिरो आशा व्यक्त गरिएको छ ।”

उनले यस्ता प्रदर्शनीबाट दुई देशबीचको सम्बन्धको गाँठोलाई अझ मजबुत बनाउने र आपसी सहयोग तथा योगदान पुर्याउने कार्यमा सकारात्मक भूमिका खेल्ने आशा पनि व्यक्त गरे ।