हामी सधैं बलिका बोका — डिल्लीराज अर्याल

मुख्य समाचार विचार

फेरि पनि मन्त्रीहरूको फेरबदल, विपक्षीको विरोध, गुटगत अदलबदलमै छौँ र रहन्छौँ हामी । त्यो भन्दा अगाडि जाने सोच छैन किनको जानु पनि छैन । नजाने गाउँको बाटो किन सोध्नू ? अरू अगाडिका कुरा त अरूले उठाउने हो, उठाइरहन्छन् । अरूले खोज्ने हो, खोजिरहन्छन् । राजनीति गर्नेहरू त सत्तामा जाने हो पाइएन भने बाहिर बसेर विरोध गर्ने हो । दलभित्रै पनि गुट बनाएर छिर्के हान्ने हो ! अरूलाई गलहत्याएर भए पनि पदमा आफू जाने हो । यस्तै यस्तैमा रुमलिएका छौँ हामी ।

हाम्रो चरित्र र व्यवहार हेर्दा लाग्छ— यहाँ बहुमत वा दुई तिहाई मत पाए पनि कुनै दलको सरकार पूरा अवधि चल्दैन, चल्न सक्दैन । सरकार पूरा अवधि चल्ने नचल्ने कुराको निर्णय मतले (भोटले) होइन, मतले (विचारले) गर्छ । मत नै गरौँ भन्ने भन्दा आफू पुगौँ, आफ्नालाई पुर्‍याऔँ र सधैं हालिमहाली गरौँ भन्ने देखिन्छ । त्यसैले सधैं विरोध हुन्छ, सधैं कि आफू पुग्ने कि ढलाउने दाउ हुन्छ ।

बीपीको दुई तिहाईको सरकार ढलेदेखि, अहिलेसम्म कुन वा कसको सरकार पूरा अवधि टिकेको छ र अबको टिक्छ ? गिरिजाप्रसादको बहुमतकै सरकार ढल्यो । अरूका, अल्पमतका, मिलिजुलीका त कुरै छोडौँ ।

जुन देशमा दुई तिहाई मत पाएका सरकार पनि टिक्दैनन् त्यो देशको राजनीति कस्तो हुन्छ ? त्यहाँका नेताले के राजनीति गर्छन् ? कस्तो राजनीतिक परिकल्पना गर्छन् र धाक लाउँछन् ? जनताले के देखेर, किन पत्याउँछन्? बुझिसाध्य छैन, तैपनि चलेकै छ । चल्न असजिलो पनि छैन । त्यसका लागि एउटै सूत्र छ — त्यो हो दोष जति अरूलाई । हो, अरूलाई दोष लाइदिएपछि सबै कमी कमजोरीबाट उम्किन पाइयो । यसै हुँदै आएको छ । यसमै अभ्यस्त भएका छौँ हामी ।

दोष कसैले नबोक्ने अभ्यासमा त हामी परिपक्व भइसक्यौँ । यो त अब हाम्रो राजनीतिको मूल प्रवृत्ति नै बनिसक्यो । कसैले दोष बोक्ने, कमजोरी सच्याउने कुरै भएन । त्यस्तो व्यक्तित्त्व कोही जन्मँदा पनि जन्मेन ।

नेता, कार्यकर्ताहरू भन्छन् ‘टिक्न दिएनन्’ ‘काम गर्न दिएनन्’ । काङ्ग्रेसले त्यसै भन्यो, भन्दैछ । नेकपाले त्यसै भन्नेछ । जो गए पनि गर्ने काम र भन्ने कुरा यिनै र यस्तै हुँदै आयो, भोलि पनि यस्तै र यिनै हुनेछन् । फरक हुने लक्षण पनि देखिन्न । यसको तात्पर्य ‘केही गर्छु, केही गर्नुपर्छ’ भन्ने भावना नहुनु नै हो ।

“राजाले चल्न दिएनन्, नेकपाले चल्न दिएन, काङ्ग्रेसले चल्न दिएन, …” उत्तर वा कारण सधैं यही र यस्तै हुन्छ, हुनेछ । दोष अरूलाई लाएर आफू पानी माथिको ओभानो बन्ने प्रयास सधैं चलिरहेछ र चल्नेछ । सधैं सत्ताले विपक्षीलाई र विपक्षीले सत्तालाई दोष लाउनेछन् । आफूहरू एकदम सफा, निर्दोष, इमान्दार भएको घोषणा गर्दै जनता सामु जानेछन् । जनताले पत्याएर फेरि पनि भोट दिनेछन् र सत्ता फेरि पनि पूरा अवधि नपुग्दै ढल्नेछ, ढलाइनेछ । यो खेल चलिरहनेछ र हामी दर्शक बनेर हेरिरहनेछौँ ।

सात सालदेखि अहिलेसम्म कहिले राजालाई देखाएर, कहिले पञ्चायतलाई देखाएर, कहिले कम्युनिष्टलाई देखाएर र कहिले काङ्ग्रेस वा अरू कसैलाई देखाएर हामीलाई ढाँटिरहे । आज लोकतन्त्र, गणतन्त्रलाई देखाएर ढाँट्दैछन् र पनि हामी पत्याउँदैछौँ, ढाँटिदैछौँ । अगाडि घाँस देखाएर काट्न हिडालेको बोको बनेको पत्तै पाएका छैनौँ हामीले । डोरो, दाम्लोबाट फुत्किए पनि डोर्याउनेकै पछि लाग्ने र काटिने बोको बन्यौँ हामी । पराधीन भए पनि स्वाधीन भए पनि पछि लाग्ने र हरेक पञ्चबलिमा, महाअष्टमीमा… अरूअरूमा काटिने, बलि दिइने बोका हामी ! यसमा तपाईँको सहमति नहुन सक्ला तर …। समग्रमा यही र यस्तै हुने गरेको छ ।

हाम्रो मानसिक विभाजन, फाइदामुखी, व्यक्ति वा परिवारमुखी, गुट उपगुटका पछि लाग्ने प्रवृत्ति आदिलाई नै यी सबैका कारक वा दोषी भन्न, मान्न मिल्दैन र ? यसलाई अर्थात् यो प्रवृत्तिलाई नसुधारी अघि बढ्न सकिने कुनै आधार छ र ? छैन, तर सुधार गरिने लक्षण कतै देखिएको पनि छैन ।