पोखराबाट नक्कली नोट कारोबारी पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार

पोखरा, ६ फागुन, पोखरामा नक्कली नोटको कारोबार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलबाट २ जना नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीले ग१४प३५४ नम्बरको ड्यूक मोटरसाइकलमा सवार पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ धारापानी बस्ने ३२ वर्षीय नरेश लामा र उनकी श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नोटसहित पक्राउ गरेको छ ।

मोटरसाइकलमा गएका उनीहरुले अर्मलाको एक पसलमा मोवाइलको रिचार्ज कार्ड मागेर १ हजारको नोट दिई फरार भएको सूचनाको आधारमा प्रहरी परिचालन गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट एक हजारको १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग गरिने कलर प्रिन्टर, एनटिसी र एनसेलका ९० हजार बराबरको रिचार्ज कार्ड, एक थान ल्यापटप, २ थान मोवाइल र ५ सयका २ वटा भारतीय नोटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।