धर्म कमाउन सडकमा गुडुल्की !

कला/संस्कृति मुख्य समाचार

काठमाडौ, ६ फागुन, भक्तपुरका एक हुल व्रतालु पुरुषहरुले नांगो खुटामा लुगा फुकालेर दैनिक फरकफरक देवस्थलहरुमा पुग्न गुडुल्किएर हिड्ने गरेका छन् । एक महिने श्री स्वस्थानी व्रतको क्रममा भक्तपुरको हनुमानघाटमा हुने माधव नारायण व्रतमा भाग लिएका उनीहरु व्रतको एक महिनाभरि यसरी नै दैनिक फरकफरक स्थानका सडकमा बिहान गुडुल्किएर हिड्छन् ।

नांगो खुटामा सबै लुगा फुकालेर धोती मात्रै लगाई दिन, तिथि अनुसार फरकरफक देवतालाई गुडुल्किएर वा जिउ नापरे हिडेर जल चढाउने कर्म उनीहरुले गर्दै आएका छन् । यस क्रममा उनीहरुले सोमबार भक्तपुर नगर परिक्रमा गरेका छन् ।

परम्परा अनुसार उनीहरु दैनिक बिहान हनुमानघाटमा भेला भई फरकफरक तीर्थस्थलमा यसरी नै गुडुल्किएर हिड्छन् । इच्छाएको पूरा हुने विश्वासमा उनीहरु यो कार्यमा सहभागी भएका हुन् ।

माधव नारायण व्रत (धलं) सेवा समितिका अध्यक्ष उद्धव खाइतूका अनुसार यो वर्ष बालबालिकादेखि वृद्धवृद्धासम्म गरी डेढ दर्जन पुरुष व्रतालु सहभागी छन् । भक्तपुर नगरका तिलमाधव नारायणदेखि वंशगोपालसम्म, तलेजूदेखि खोखाली नारायण इटाछेंसम्म, बाकुपटी नारायण सूर्यमढीदेखि तुलाछेंसम्म, हनुमानघाटदेखि चण्डेश्वरीसम्म र अन्तिम पटक व्रत सम्पन्न हुनु एक दिन अघि सोमबार चतुर्दशीका दिन टौमढी तिलमाधवदेखि देश परिक्रमा गरेर तिलमाधवमै पुगेर व्रत अन्त हुने परम्परा छ ।

यसबाहेक व्रतालुहरु यो एक महिनाकोबीचमा भक्तपुर नगरबाहेक भक्तपुरकै चाँंगुनारायण, काठमाडौंको पशुपति, काभ्रेपलान्चोकको पनौतीमा पनि नांगो खुटाले हिडेर पुग्नुपर्छ ।

भक्तपुरको हनुमानघाटमा नेपाल सम्वत ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण छ ।