प्रदेश एकको नाम ‘किरात प्रदेश’ राख्न दवाव दिने यायोक्खाको तयारी

प्रदेश मुख्य समाचार

मोरङ, ४ फागुन, किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन मार्फत १ नम्बर प्रदेशको नाम किरात राख्न दवाव दिने तयारीमा रहेको सो संगठनले जनाएको छ । महाधिवेशन सुनसरीको धरानमा फागुन १८ देखि २० गतेसम्म हुदैछ । महाधिवेशनको तयारी बारे आज (शनिबार) काठमाडौं कोटेश्वर स्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।

सम्मेलनको लागि ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान’ भन्ने मुख्य नारा तय भएको संगठनको केन्द्रीय अध्यक्ष तिलक राईले बताए ।

महाधिवेशन मार्फत प्रदेशको नाम किरात राख्न प्रदेश सभालाई दवाव दिइने यायोक्खा केन्द्रीय महासचिव जीवन हताचो राईले बताए । किरात कुनै एउटा जाति नभएर इतिहास, भूगोल, सभ्यता, संस्कृति, साझा मनोविज्ञान भएको भन्दै यस अघिदेखि नै यायोक्खाले प्रदेशको नाम किरात राख्नु पर्ने प्रस्ताव राख्दै आएको थियो । भूगोलको सम्मान र प्रदेशवासीको चाहना पुरा गर्न नाम किरात राखिनुपर्ने यायोक्खा केन्द्रीय उपाध्यक्ष दिवस राईले बताए ।

प्रदेश १ को हिउदे अधिवेशन माघ २० गतेदेखि सुरु भएको छ । यायोक्खाले यही अवसर पारेर धरानमा १० औं राष्ट्रिय महाधिवेशन गरेर प्रदेशको नाम किरात राख्न थप दवाव दिने तयारी गरेको हो ।

महाधिवेशन अघि यायोक्खाको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ललितपुर, भक्तपुर, काठमाडौं, बारा, पर्सा लगायतका जिल्ला महाधिवेशनहरु गरिसकेको यायोक्खा केन्द्रीय उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख भीम राईले बताए ।

त्यसैगरी आठ वटा भातृ र २८ वटा भाषिक संस्थाहरुको अधिवेशन मार्फत प्रदेश १ को नाम किरात राख्न प्रदेश सरकारलाई दवाव दिइएको यायोक्खा केन्द्र तथा प्रचार समितिका सदस्य अर्जुन जम्नेली राईले बताए ।

राष्ट्रिय महाधिवेशन मार्फत प्रदेश सभालाई दवाव दिन जिल्लाहरुमा भित्तेलेखन, व्यानरिङ, पोष्टरिङ, ¥याली, जुलुस लगायतको कार्यक्रम भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
त्यसैगरी फागुन १५ गते झापाको काँकडभिट्टा, धरानको सुनसरीदेखि मोटरसाइकल र्याली मार्फत प्रदेश सभाको कार्यालय विराटनगर पुगेर सभालाई किरात नाम बारे दवाव दिने कार्यक्रम रहेको यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले बताए ।

महाधिवेशनमा नेपालसहित १८ देश सहभागी हुने
राष्ट्रिय महाधिवेशनमा नेपालको २४ वटा जिल्ला समितिहरु, ८ वटा भातृ संगठन, २८ वटा भाषिक संगठनहरु, अमेरिका, बेलायत, भारत, हङकङ, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, युएई लगायतको १७ वटा देशबाट एक हजार भन्दा बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले बताए ।

किरात राई समुदाय नेपालको १० औं र ५९ आदिवासी जनजाति मध्ये ५ औं ठूलो जनसंख्या भएको जाती हो । फागुन १८ गते सुनसरी धरानको भानुचौकमा हुने उद्घाटन कार्यक्रममा एक लाख भन्दा बढीको सहभागिता रहने महासचिव जीवन हाताचो राईले बताए ।

प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका पूर्वमन्त्री भीम आचार्य, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राई, प्रदेशका मन्त्रीहरु लगायतको सहभागि हुने अध्यक्ष राईले बताए ।

Loading...