गण्डकी प्रदेश सरकारको एक वर्ष : झिनामसिना काममै अलमल

प्रदेश मुख्य समाचार

काठमाडौँ, ४ फागुन, गण्डकी प्रदेश सरकारले वर्षदिनमा १२७ कामको प्रगती विवरण बुधबार सार्वजनिक गरेको छ । २१ वटा विधेयक प्रदेश सभाबाट पारित भएको विषय पनि प्रगतिमा समेटिएको छ । अहिलेसम्म २५ वटा विधेयक प्रदेशसभामा पेश भए पनि २१ वटा पारित भई प्रमाणित भएका छन् । त्यस्तै बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित ११७ वटा कार्यविधि÷निर्देशिका स्वीकृत भई कार्यान्वयनमा आएको प्रदेश सरकारले बताएको छ ।

प्रादेशिक संरचना निर्माणका लागि स्थान पहिचान गरी स्वीकृतिको लागि संघीय सरकारलाई अनुरोध गरेको विषयलाई पनि प्रगतिमा समेटेको छ । समृद्धिको लागि पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संसाधन र सुशासन गरी ७ वटा संवाहकलाई प्रदेश सरकारले पहिचान गरेको छ ।

प्र्रदेश सरकारले बजेट तथा आर्थिक ऐन कार्यान्वयनका लागि विभिन्न जिल्ला तथा स्थानीय तहसँग गरेको छलफललाई पनि प्रगति मानेको छ । विपद ब्यवस्थापनमा ५ वटा काम गरेको भन्दै कार्य प्रगतिमा समेटेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित प्रदेश विपद ब्यबस्थापन समिति र आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको संयोजकत्वमा प्रदेश विपद ब्यवस्थापन कार्यकारी समिति गठन गरेकोलाई समेत प्रदेश सरकारले प्रगति ठानेको छ । प्रदेश विपद ब्यवस्थापन कोष गठन गरेर कोषमा २ करोड जम्मा गरेको, प्रदेशका ११ जिल्लाका लागि विपद ब्यवस्थापन कोषबाट २१ लाख निकासा गरेको र जोखिम नक्साङ्कन कार्य र विपद उद्धार सामग्री खरिद अघि बढाएको, विपद पूर्व सूचना प्रणाली सम्बन्धी पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिएको, राहत तथा उद्धार सामग्री वितरण गरिएको कामलाई पनि सरकारले प्रगति ठानेको छ । बागलुङको ढोरपाटनमा आगलागीबाट पीडित ३८ घर परिवारलाई प्रति घरधुरी १० हजार रुपैयाँका दरले राहत वितरण गरेको विषय समेत कार्यप्रगतिमा परेको छ ।

मुख्यमन्त्री गुरुङ

चीनको हाइनान् प्रान्त र गण्डकी प्रदेशबीच भगिनी सम्बन्ध स्थापना गरेको, पोखरामा अन्तर्राष्ट्रियस्तरको बहुउपयोगी खेल मैदान निर्माणका लागि चिनियाँ कम्पनीबाट सम्भाव्यता अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन तयार गर्न संघीय सरकारसँग अनुरोध गरेको विषयलाई पनि प्रगति ठानेको छ । गण्डकी प्रदेश सरकारले सिंचाईतर्फ ४९ वटा र नदी नियन्त्रणतर्फ ६९ वटा गरी कुल ११८ वटा योजनाका लागि ठेक्का सम्झौता गरेको, ६ वटा सिंचाई योजना निर्माण सम्पन्न भएको, च्याङ्लीटार र कालिमाटी डिप ट्युबेल सिंचाई आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरेको लगायतका काम उल्लेख छ । खानेपानी आयोजनाका सम्झौतालाई पनि प्रगति विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको एक वर्ष उत्साहजनक रुपमा बितेको दावी गरे । कर्मचारी अभाव र श्रोत बाँडफाँडको अभावले असाध्यै कठीन र पीडा भोगे पनि भएको श्रोत र साधनको अधिकतम् उपयोग गर्ने प्रयास गरेको उनले उल्लेख गरे ।

पुरा प्रगति विवरण हेर्न यहाँ जानुहोस्

Loading...