स्टेजमै ढलेका गाउँपालिका अध्यक्ष नेम्बाङको निधन

प्रदेश मुख्य समाचार

पाँचथर, २६ माघ, कार्यक्रममा मन्तब्य राख्दै गर्दा अचानक ढलेका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्बाङको निधन भएको छ । उपचारकोलागि इलाम अस्पताल ल्याइएका नेम्बाङलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

फाल्गुनन्द गाउँपालिका वडा नं. ५ ले आयोजना गरेको ३ दिने क्षमता विकास तालिम कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेम्बाङ अचानक ढलेका थिए । उनलाई उच्च रक्तचाप रहेको पारिवारिक श्रोतले जनाएको छ तर निधनको कारण त्यही हो वा होइन चिकित्सकले केही जानकारी दिएका छैनन् ।

नेम्बाङ दुई विषयमा स्नातकोत्तर हुन् भने भाषा, साहित्य र समाजसेवाका धरोहर मानिन्छन् । लिम्बू भाषा र साहित्यमा नेम्बाङको योगदान अतुलनीय छ । नेम्बाङ गत स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

तस्विर सौजन्य: लबदेव ढुङ्गाना, पाँचथर