काठमाडौँ वरिपरी हिउँको घेरो, राजधानीबासीले छतबाटै लिए मनोरञ्जन

पर्यटन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २६ माघ, लगातार तीन दिनदेखि वर्षा भइरहेको राजधानीमा आज अचानक हिँउ परेको छ । राजधानीको वरिपरीका पहाडमा शनिबार मनग्य हिउँ पर्यो । अघिल्ला दुई दिन पानी परे पनि चिसो त्यति धेरै महशुस नगरेका राजधानीबासीले शनिबार भने निक्कै ठण्डीको महशुस गरेका छन् । जसको कारण हो काठमाडौँ वरिपरीको हिउँको घेरो ।

काठमाडौँ उपत्यकाबाट नजिकैका पहाडमा सेताम्मे हुनेगरी हिउँ परेपछि राजधानीबासीहरु मख्ख परेका छन् । घरका छतबाटै हिउँको आनन्द लिन पाएपछि ठण्डी बिर्सिए । घरका छत वा अग्लो गाउँमा गएर धेरैले हिउँको प्रत्यक्ष दृश्यावलोकन गरे भने धेरै हिउँ खेल्न त्यही पुगे । शिवपुरी, फूल्चोकी, चन्द्रागिरी लगायतका पहाडमा हिउमा रमाउनेको ठूलो भिड नै लाग्यो ।

सोमबारसम्मै मौसममा बदली
मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो देशको पूर्वी र मध्य भेगमा सामान्य बदली रही पश्चिमी भेगमा आंशिक बदलि रहने जनाएको छ । मध्य र पूर्वी भेगका केही तथा पश्चिमी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताएको छ ।

यसैगरी शनिबार राति देशको पूर्वी भेगमा सामान्य बदली रहनेछ भने बाँकि भूभागमा आंशिक बदली रहने छ । पूर्वको थोरै स्थानहरुमा तथा मध्य र पश्चिमी भेगका एकरदुई स्थानहरुमा हल्का वर्षाको संम्भावना रहेको पनि जनाएको छ । हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि देखाएको छ ।

माघ २७ गते आइतवार दिउँसो पनि देशको पहाडी भू-भागमा आंशिक बदलि रहने जनाइएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका १–२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भेगका १–२ स्थानहरुमा हल्का हिमपातको संम्भावना रहेको महाशाखाको भनार्य छ ।

आइतबार राती देशको पश्चिमी र मध्य भेगमा आंशिक बदलि रहने तथा पूर्वी भेगमा मौसम सामान्यतया सफा रहने जनाएको छ । देशको पश्चिमी र मध्य हिमाली भेगका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी माघ २८ गते सोमवार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदलि रहने महाशाखाको भनाई छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार राति देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

तस्विर: रमेश हतुवाली

Loading...