आचार्य बालकृष्णले नेपालमा लगानी लगाउने, ‘आचार्यकुलम’ स्थापना गर्ने घोषणा

विषेश समाचार शिक्षा

परासी, २५ माघ, पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले पश्चिम नवलपरासीको सुनवलस्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्ने भएका छन् । साथै जडीबुटी उत्पादन प्रशोधन तथा आयुर्वेदिक केन्द्र, योग ग्राम स्थापना तथा वैदिक कृषिलगायतका कार्यक्रम सञ्चालनका लागि मङ्गलबार उनले बर्दगोरिया क्षेत्रको स्थलगत अध्ययन अवलोकन गरे ।

आचार्यकुलम, गुरुकूल शिक्षाका साथै आधुनिक शिक्षा पद्धति अध्यापन हुने आवासीय शैक्षिक संस्था हो । यो शिक्षालय भारतको हरिद्वारमा योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्तरुपमा सञ्चालन गरिरहेका छन् । आचार्य बालकृष्णले आफूले नेपालमा लगानी गर्न चाहेको र त्यसका लागि बर्दगोरिया क्षेत्र उपयुक्त देखेको बताए ।

उनले भने, “यहाँका नागरिकले साथ र सहयोग गरेमा म यस क्षेत्रलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्न चाहन्छु, मेरो बाल्यकाल अभाव र सङ्घर्षमा बितेकाले गरीबका छोराछोरीलाई निःशुल्क पढाएर सेवा गर्ने इच्छा छ, म नेपाली भएकाले पनि नेपाललाई समृृद्ध र स्वस्थ नेपाल बनाउन चाहेको हुँ, शिक्षित नेपाली, स्वस्थ नेपाली बनाउन नेपालका प्रत्येक प्रदेशमा आचार्यकुलम र योगग्राम बनाउने इच्छा पनि छ ।”

तस्विर: नेपाल भ्रमणका क्रममा स्वागत ग्रहण गर्दै आचार्य बालकृष्ण, साभार : मुहार पुस्तिका