मेलम्ची खानेपानी आयोजनाद्वारा सीएमसीसँगको सम्झौता रद्द, काठमाडौँमा पानी आउने सपना धकेलियो

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, २५ माघ, मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङ निर्माण गर्न जिम्मा पाएको कम्पनी सीएमसीसँगको सम्झौता रद्द गरेको छ । समितिको बिहीबार बसेको बोर्ड बैठकले सम्झौता रद्द गरेको हो ।

बैठकले सम्झौता रद्द गरिएको जानकारी सहितको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक तथा बोर्ड सदस्य सूर्यराज कँडेलले जानकारी दिए । अबको केही दिनमा नयाँ कार्ययोजना बनाएर प्रस्ताव मन्त्रिपरिष्दमा पठाउने तयारी गरिएको निर्देशक कँडेलले जानकारी दिए । उनले भने, “अब कसरी अगाडि बढ्ने भन्ने कुरामा हामीले दुईवटा प्रस्ताव बनाएका छौँ, द्रूत गतिमा जाने वा नियमित प्रक्रियाबाट जाने । यी दुईवटा प्रस्तावमा मन्त्रिपरिद्ले निर्णय गरेपछि हामी अगाडि बढ्छौँ वा सरकारले अन्य प्रस्ताव पनि दिन सक्छ ।’’

निर्माण कम्पनीले काम छाडेर गए पनि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव अगाडि ल्याइएको छ । पहिलो विकल्पमा द्रुत मार्गबाट जान सकिने छ । जसमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा १४५ अनुसार विशेष परिस्थितिको कारण जनाई खरिद गर्ने प्रक्रिया पुर्याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्ने उल्लेख छ । त्यसरी गए चार महिनाको अवधिमा परियोजना सकिने बताइएको छ ।

दोस्रो विकल्पमा नियमित खरिद प्रक्रियालाई लिइएको छ । जसमा सार्वजनिक बोलपत्र आह्वानमै तीनदेखि नौ महिनासम्म लाग्ने र काम सम्पन्न गर्न दुईदेखि तीन वर्षसम्म लाग्ने अनुमान गरिएको छ । समितिले यी दुई विकल्प मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन लागेको हो ।

इटालियन निर्माण कम्पनी सीएमसीले पुस १ गते काम गर्न नसक्ने जानकारी गराउँदै निर्माणस्थल छाडेपछि समितिले पटक—पटक आग्रह गर्दा पनि नफर्किएपछि सम्झौता रद्द गरेको हो । सम्झौता रद्द गर्ने आशयसहितको १४ दिनको म्याद दिएर अन्तिम पटक पत्राचार गरे पनि निर्माण कम्पनी सम्पर्कमा आएन ।

Loading...