कुलचन्द्र गौतम स्मृति संस्थाले त्रिविमा सहयोग गर्ने

मुख्य समाचार शिक्षा

काठमाडौं, २४ माघ, त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द्र गौतम स्मृति संस्थाबीच संस्कृत केन्द्रीय विभागको नाममा बहुउद्देश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योग लगायतका विधाहरुमा अध्ययन÷अनुसन्धान गर्ने सहमति भएको छ । त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागको तर्फबाट विभागका प्रमुख प्रा.डा. नारायण प्रसाद गौतम र कुलचन्द्र गौतम स्मृति संस्थाका अध्यक्ष डा.प्रसन्नचन्द्र गौतमले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उपकुलपति कार्यालयमा बिहिबार आयोजित सम्झौता पत्र हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले समाजका महत्वपूर्ण व्यक्तित्वसँग जोडिएर विश्वविद्यालयहरुका शुभचिन्तकहरुले अनुसन्धान केन्द्र खोल्ने प्रयत्न गर्नु आफैँमा पवित्र काम भएको बताए । विद्धानहरुको नाममा स्थापित संघसस्थाले विश्वविद्यालयका केन्द्रीय विभागहरुसँग सहकार्य गर्दा प्राज्ञिक गतिविधि बढ्नुको साथै ज्ञान उत्पादनमा महत्वपूर्ण सहयोग प्राप्त हुने उनले बताए ।

कुलचन्द गौतम स्मृति संस्थाका अध्यक्ष डा.प्रसन्नचन्द्र गौतमले संस्कृत र नेपाली साहित्यका विद्धान कुलचन्द्र गौतमको नाममा त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अध्ययन एवं अनुसन्धान हुनु मुलुककै लागि गर्वको विषय रहेको बताए । उनले संस्कृति केन्द्रीय विभागको नाममा ४ हजार वर्गफिटको भवन निर्माण गरी प्राज्ञिक एवं अनुसन्धानका कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

त्रिवि संस्कृत केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. नारायणप्रसाद विद्धान कुलचन्द्र गौतमको नाममा प्राप्त सहयोगले संस्कृत केन्द्रीय विभागमा योगमा स्नातक विषय सञ्चालयमा ल्याउने र संस्कृत विषयका प्राज्ञिक अनुसन्धान कार्यलाई अघि बढाउने बताए ।