नि:शुल्क आखाँ शिविरबाट २ हजार बढीले लाभ लिए

मुख्य समाचार स्वास्थ्य

सृष्टि सुनुवार, ओखलढुङ्गा, २४ माघ, खिजीदेम्बा गाउँपालिकामा वृहत नि:शुल्क आखाँ शिविर सम्पन्न भएको छ । विभिन्न स्थानमा गरी १० दिनसम्म संचालन भएको आँखा शिविरबाट २ हजार बढिले लाभ लिएका छन् । खिजीदेम्बा गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र शाहले २ हजार १ सय ३२ जना व्यक्तिहरुलाई सेवा प्रदान गरिएको जानकारी दिए । जसमध्ये ६८ जनाको आखाँको शल्यक्रिया गरिएको छ ।

नि:शुल्क आखाँ शिविर माघ १० गते रगनीबाट सुरु भई २० गते खिजीफलाटेमा सम्पन्न भएको थियो । रगनीमा ५ सय १६, चण्डेश्वरीमा २ सय ३३, खिजीकातीमा २ सय ७, खिजीफलाटेमा ४ सय १०, हातेमा ९५, रावादोलुमा ३ सय ५९, भुसिंगामा २ सय १९ र फाप्रेमा ९३ गरी २ हजार १ सय ३२ जनाले लाभ लिएका छन् ।

तिलगंगा आँखा अस्पताल काठमाण्डौ, खिजीदेम्बा गाउँपालिका ओखलढुगां र तिरोल अष्ट्रिया चुप्लुङको संयुक्त आयोजनामा शिविर भएको हो । शिविरमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुका प्रमुख पुष्पबाबु बस्नेत र जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका प्रमुख बासुदेव अधिकारी समेत रहेका थिए ।

शिविरमा तिलंगगा आँखा अस्पतालमा नेत्र चिकिसत्क किपा वैद्य सहित १९ जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो । मोतिविन्दु शल्यक्रियासहित नि:शुल्क औषधि तथा चस्मा समेत वितरण गरिएको शिविरमा इलाका स्वास्थ्य केन्द्र खिजीफलाटेका स्वास्थ्यकर्मी खटिएका थिए । यस्तै फूलमति माविका कक्षा १० का विद्यार्थी स्वयमसेवकको रुपमा व्यवस्थापनका लागि सक्रिय सहभागि भएको आयोजकले जनाएको छ ।

आँखाको नि:शुल्क शल्यक्रिया सेवा पाएका लाभग्राहीले लामो समयदेखिको ज्योतिको समस्याबाट मुक्ति पाएको भन्दै संसारको उज्यालो ज्योति देखाउन मद्दत गर्ने चिकित्सक प्रति आभार प्रकट गरेका छन् । शिविर सम्पन्न गराउनका लागि सहयोग गर्ने सबै प्रति गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।