द गोर्खा मेमोरियल फण्ड बेलायतद्वारा अग्नी नियन्त्रणका आवश्यक सामग्री हस्तान्तरण

प्रदेश मुख्य समाचार

झापा, २४ माघ, द गोर्खा मेमोरियल फण्ड बेलायतले झापाको मेचीनगर नगरपालिकालाई करिब १५ लाख रुपैयाँ मूल्य बराबरका अग्नी नियन्त्रणका आवश्यक सामग्री हस्तान्तरण गरेको छ । फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङसहित बेलायतबाट आएका अग्नी नियन्त्रण विशेषज्ञ टोलीले ती सामान बुधबार एक कार्यक्रमकाबीच नगरपालिकालाई हस्तान्तरण गरेको हो । मेचीनगर—६ काँकरभिट्टा निवासी गुरुङ बेलायत फोक्सटन क्षेत्रका नेपाली मुलका पहिलो काउन्सिलरसमेत हुन् ।

गोर्खा मेमोरियल फाउण्डेशन नेपालको पहल र मेचीनगर नगरपालिकाको आग्रहमा ती सामान प्रदान गरिएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा पूर्वकाउन्सिलर गुरुङ नेतृत्वको टोलीले नगरप्रमुख विमल आचार्यसहितको टोलीलाई सामान हस्तान्तरण गरेको थियो । गुरुङसहित बेलायतका अग्नी नियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ स्ट्रीटसमेत नेपाल आएका छन् । उनीहरुले तीन दिनसम्म झापाको मेचीनगर, विर्तामोड, दमक, भद्रपुर र गौरीगञ्ज नगरपालिकामा कार्यरत अग्नी नियन्त्रक तथा नगर प्रहरीहरलाई विपत व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

कार्यक्रममा नगरप्रमुख आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, पूर्वकाउन्सिलर गुरुङ, अग्नी विपद व्यवस्थापन विशेषज्ञ जोन मोनाहाङलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले गरेका थिए ।

उनै पुर्व काउन्सिलर गुरुङको सक्रियता तथा द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको पहलमा भारतीय राजदूताबास मार्फत एउटा टाटा कम्पनीको सुमो एम्बुलेन्स पनि मेचीनगर नगरपालिकालाई प्राप्त भएको छ । यस अघि पूर्व काउन्सिलर गुरुङ्गकै पहलमा औषधि र अन्य उद्धारका सामग्री पनि नगरपालिकालाई प्राप्त भएको थियो ।

उनले सुविधा सम्पन्न वारुणयन्त्र र एम्बुलेन्स नगरपालिकालाई उपलब्ध गराउन खोजे पनि विभिन्न कारणले आधाबाटैबाट फर्किएको बताइएको छ । केही महिनाअघि काँकरभिट्टा माविका लागि उनै किरणले २८ लाख रुपैयाँ मूल्य बराबरका ३१ थान डेक्सटप कम्प्युटर प्रदान मात्र गरेनन् २ वर्षसम्म प्राविधिक सहयोग उपलब्ध गराउनेसमेत घोषणा गरे । आफ्ना दिवंगत बाबु आमाको स्मृतिमा अम्बर—भक्ति कम्प्युटर प्रविधि शिक्षालयको समेत उनले नामाकरण गरे ।

किरणले नेपालको शिक्षा क्षेत्रमा निक्कै योगदान पुर्याउँदै आएका छन् । झापाका पूर्वाेत्तर तथा दक्षिणी क्षेत्रमा प्रायः विद्यालयका भवन निर्माण, घेरावार, शौचालय निर्माणमा उनको निक्कै ठुलो योगदान छ । यस्ता अभियानलाई देशव्यापी बनाउने र तत्काल रोल्पाको थवाङ गाउँमा कम्प्युटर दिने योजना अन्तिम चरणमा पुगेको पनि उनले सुनाए ।

Loading...