निर्मला हत्या प्रकरण अनुसन्धानमा प्रहरीको चरम लापरबाही !

ट्राफिक/प्रहरी मुख्य समाचार

काठमाडौँ, २४ माघ, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको ६ महिना पुरा भइसकेको छ तर हत्यारा अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । नेपाल प्रहरीसहित विभिन्न निकायले अध्ययन र अनुसन्धान गरिरहे पनि त्यसको प्रतिफल सकारात्मक देखिएको छैन ।

यसै सन्दर्भमा अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगले २०७५ चैत २७ गते विज्ञहरुसहितको अनुसन्धान टोली गठन गरेको थियो । सो अनुसन्धान टोलीले आफ्नो अध्ययन प्रतिवेदन अघिल्लो आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । पूर्वनायव महान्यायाधीवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित उक्त अनुसन्धान समितिमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डि.एन.ए. विशेषज्ञ दिनेश झा र आयोगका अधिकृत संलग्न थिए ।

प्रतिवेदनमार्फत आयोगले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ४ बुँदे सिफारिस र २४ बुँदे निर्देशन पनि दिएको छ । प्रतिवेदनले निर्मला पन्तको गत साउन १० बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले पटक–पटक चरम लापरबाही गरेको उल्लेख गरिएको छ । सो घटनामा घटनास्थलको अध्ययन, लाश जाँच तथा मुचुल्का अभिलेखिकरणमा लापरबाही गरेको, शव परीक्षणमा सामान्य ज्ञानको सिद्धान्त पनि प्रयोग नभएको, प्रमाणविहीन मृत्युको कारण उल्लेख गरेको आयोगले जनाएको छ । संकलित प्रमाणहरु पनि कानुनी चिकित्सा विज्ञानका सिद्धान्तले पुष्टि गर्न नसक्ने किसिमका छन् ।

प्रहरीले डिएनए नुमना संकलनमा नै गम्भीर गल्ती गरेको पाइएको छ । सम्बन्धित ठाउँको आवश्यक मात्रामा नमुना लिनु पर्नेमा सिन्कोमा बेरिएको कपासको नमुना मात्रै संकलन गरिएको पनि पाइएको आयोगले जनाएको छ । यसले डिएनएको रिपोर्ट सही आउन नसक्ने उसको ठहर छ ।

अनुसन्धानमा प्रहरी र अनुसन्धान अधिकारी घटनाप्रति संवेदनशील नभएको आरोप पनि आयोगले लगाएको छ । शव प्राप्त हुनुभन्दा अघिल्लो दिन साँझ नै निर्मला हराएको खबर चौकीमा आए पनि खोजबिनमा प्रहरीले उदासिनता देखाएको पनि पाइएको छ । घटनास्थलकै मौकामा जाँच पड्ताल, सोधपुछ नभएको, घटनास्थलको छुट्टाछुट्टै मुचुल्का खडा नगरिएको, स्वच्छ सुनुवाईलाई अनुसन्धानको अधारस्तम्भ नमानिएको, लाश जाँचमा प्रहरी अधिकारी सजग र गम्भीर नभएको, अनुसन्धानमा मानसिक एवम् शारीरिक यातनालाई शुन्य सहनशीलतामा नलगिएको, अनुसन्धानका नाममा स्थानीयलाई दुःख र हैरानी मात्रै दिएको, आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको लगायतका गल्तीहरु प्रहरीले गरेको आयोगको ठहर छ ।

Loading...