डा. शर्मालाई जसराज किराती प्रतिभा पुरस्कार

मुख्य समाचार साहित्य

काठमाडौँ, २३ माघ, जसराज किराती प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘जसराज किराती प्रतिभा पुरस्कार’ दाङकी कवि तथा समालोचक डा. विन्दु शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । कविता, निबन्ध, कथा तथा समालोचनाका माध्यमबाट नेपाली साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत डा. शर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष रक्ष राईले बेलायतको वेल्सबाट एक विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

वि.संं. २०३३ साल वैशाख १८ गते दाङको उरहरीमा जन्मिएकी डा. शर्माका ‘गीतिनाट्य परम्परामा राष्ट्रकवि घिमिरे’, ‘आधारभूत नेपाली समालोचना’, ‘भीमनिधि तिवारीः सिर्जना र धरातल’, ‘आदिकवि भानुभक्तः समसामयिक आँकलन’, ‘विश्वेश्वर कोइरालाः समीक्षा र सम्झना’, ‘नेपाली समालोचनाका नवीन आयाम’ समालोचना र ‘समसामयिक प्रगतिवादी नेपाली कथा’ सम्पादनसमेत गरी ७ पुस्तक प्रकाशित छन् । यसै गरी उनको एक कविताकृति प्रकाशोन्मुख छ । प्राध्यापन पेशामा आवद्ध उनी साहित्यिक अभियन्तासमेत हुन् ।

प्रसिद्ध कवि जसराज किरातीका साहित्यिक सिर्जनाहरूको खोजअनुसन्धान, संरक्षण, सम्बद्र्धन एवं प्रकाशन गरी प्रवद्र्धन गर्ने उद्देश्यले पाँच वर्षअघि नेपाल र बेलायतमा रहेका किरातीका शुभचिन्तक तथा आफन्तजनहरूको सक्रियतामा स्थापित जसराज किराती प्रतिभा प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिने पचास हजार राशिको पुरस्कारबाट यसअघि कवि मनु मन्जिल, श्रवण मुकारुङ र सिक्किमका वीरु बाङ्देल पुरस्कृत भइसकेका छन् ।

पुरस्कार फागुनको दोस्रो हप्ता काठमाडौँमा एक समारोहको आयोजना गरी हस्तान्तरण गरिने बताइएको छ ।