अरनिको समाजद्वारा चिनिया नववर्षको अवसरमा भव्य कार्यक्रमको आयोजना

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २३ माघ, चिनिया नववर्ष वसन्तोत्सव २०१९ को अवसरमा अरनिको समाजले भव्य कार्यक्रमको आयोजना गरेको छ । उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव तथा नेपालका लागि चिनिया राजदूत हौ यान्छी, विभिन्न राजनीतिक दलका नेताहरु, केन्द्रीय तथा प्रान्तीय संसदका सांसदहरु, नेपाल चीन मैत्री संस्थाका पदाधिकारीहरु, चिनिया राजदूतावासका पदाधिकारीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विभिन्न शैक्षिक संस्था तथा आयोजनाहरुमा कार्यरत चिनियाहरु तथा सर्वसाधारणको विशेष उपस्थितिमा आईतबार साँझ ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा बोल्दै उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले हजारौ वर्ष पूरानो नेपाल चीन सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न वुद्धभद्र, स्वान चाङ, फा स्यान, भृकुटी र अरनिकोजस्ता महामानवहरुको महत्वपूर्ण योगदान रहेको बताए । नेपालको आर्थिक समृद्धिमा चीनको सहयोग उल्लेख्य रहेको भन्दै मन्त्री यादवले २०७२ सालको महाभूकम्पमा चीन सरकारले उपलब्ध गराएको सहयोगको उच्च प्रशंसा गर्दै नेपालको शैक्षिक, भौतिक पूर्वाधार निर्माणजस्ता क्षेत्रमा चीनले दिँदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे । मन्त्री यादवले चिनिया नव वर्ष तथा वसन्तोत्सवको अवसरमा समस्त चिनिया तथा नेपाली जनताको उज्वल एवम् सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेका थिए ।

सो समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनिया राजदूत हौ यान्छीले नेपाल चीन मैत्रीको प्रवद्र्धनमा स्थापनाकालदेखि नै अरनिको समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । नेपालका महान कलाकार अरनिकोको सम्झना गर्दै राजदूत हौले चीनका विभिन्न स्थानमा अरनिकोले दश वटा भन्दा बढि भव्य बौद्ध विहार र स्तुपाहरुको निर्माण गरी चीनको वास्तुकलालाई समृद्ध तुल्याएको बताइन् । सन् २०१८ नेपाल चीन आपसी सहयोग र आदान प्रदानको हिसाबले उपलब्धिमुलक वर्ष रहेको जानकारी दिँदै चिनिया राजदूतले दुई देशबीचको सम्बन्ध आगामी वर्षहरुमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरिन् । साथै राजदूत हौले चिनिया नव वर्ष सुगुर वर्षको अवसरमा काठमाडौंस्थित चिनिया दूतावासको तर्फबाट चिनिया तथा नेपाली जनताको सुख, शान्ति, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेकी थिइन् ।

शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले सन् १९८१ मा चीनमा विभिन्न संकायमा अध्ययन पुरा गरी फर्किएका नेपाली विद्यार्थीहरुले अरनिको समाजको स्थापना गरेसँगै नेपाल र चीनबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्धलाई दुवै देशका जनतामाझ पुर्याउन विभिन्न कार्यक्रमहरुको आयोजना गर्न थालिएको जानकारी दिए । चिनिया वसन्तोत्सव चिनिया जनताको सबैभन्दा ठूलो चाड भएकोले यस चाडको अवसरमा नेपालमा विभिन्न क्षेत्रमा कार्यरत रहँदै आएका चिनियाहरुलाई यहि बसेर वसन्त चाडको अनुभव गराउने र मनोरञ्जन दिने उद्देश्यले विगत लामो समयदेखि अरिनिको समाजले चिनिया नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको बताए । अरनिको समाजले स्थापना कालदेखि नै निःशुल्क स्वास्थ्य शिविर, पुस्तक प्रकाशन तथा रुपान्तरण, चीन तथा नेपालमा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले कुकुर वर्षको अन्त्य भई सुँगुर वर्ष प्रारम्भ भएको अवसरमा सम्पूर्ण चिनिया तथा नेपाली जनतालाई सुखमय एवम् समृद्ध जीवनको लागि हार्दिक शुभकामना व्यक्त गरे ।

सो अवसरमा कलाकारहरुले काठमाडौं उपत्यकामा लोकप्रिय परम्परागत बसन्त ऋतु, विभिन्न जात्रामा बजाइने लोकधुन तथा प्रसिद्ध नेवार लोकधुनको माध्यमबाट अतिथिहरुलाई मनोरञ्जन दिएका थिए ।