नेपालमा इन्धनको मूल्य बढ्यो, भारतमा घट्यो !

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, २० माघ, नेपाल आयल निगमलाई तेल बिक्री गर्दै आएको इण्डियन आयल कर्पोरेशन (आइओसी) ले भारतीय बजारमा १२ दिनयता मूल्य घटाइरहेको छ । तर सोही कम्पनीबाट इन्धन खरिद गर्ने नेपाल आयल निगम (एनओसी) ले उपभोक्ताको अपेक्षाविपरित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको छ । निगमले शनिबार रातिबाट लागू हुने गरी मूल्य बढाएपछि उपत्यकामा पेट्रोल १ सय १० र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ । बजारमा पेट्रोल, डिजेलको भाउ बढ्नासाथ दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, सार्वजनिक यातायातको भाडादरलगायतमा असर पर्दै आएको छ ।

उता आइओसीले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार शुक्रबार आयल निगमलाई नयाँ मूल्यसूची पठाएकै दिन भारत भर पेट्रोलमा १५ पैसा र डिजेलमा १० पैसा प्रतिलिटर मूल्य घटाएको छ । शुक्रबारको मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य ७१.०९ भारुबाट घटेर ७०.९४ र डिजेलको मूल्य ६५.८१ भारुबाट घटेर ७५.७१ भारु प्रतिलिटर कायम भएको छ । भारतमा डिजेल र पेट्रोलको मूल्य जनवरी २२ यतादेखि घटिरहेको आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।