गलत प्रचारबाजी गर्नेविरुद्ध अदालत जाने बौद्ध तथा मेलम्ची घ्याङ गुठीको चेतावनी

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १९ माघ, बौद्ध स्तुपा र समग्र बुद्ध धर्ममाथि नै निराधार रुपमा आरोप लगाउने र बदनाम गराउने कार्य विरुद्ध अदालत जाने बौद्ध तथा मेलम्ची घ्याङ गुठीले चेतावनी दिएको छ । शनिबार गुठीमै एक पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न व्यक्ति तथा समूहले प्राचीन परम्परा र सांस्कृतिक धरोहर बनेको गुठी र यसका मुख्य धर्मगुरु रिन्पोछे भूपति बज्र लामाको बदनाम गराउने काम भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

कपालकल्पित आरोप लगाउने, गुठीको जग्गा मिच्ने, धर्मगुरुको फोटोलाई बिगारेर मानमर्दन गर्ने लगायतका कार्यविरुद्ध अदालतको ढोका ढक्ढक्याउन पनि पछि नपर्ने गुठीले जनाएको छ । गुठीको जग्गा स्थानीयहरुले मिचेर पार्टी प्यालेस र पसल राखेको, गुम्बाभित्र प्रवेश गरेर बत्तिको व्यापार गरेको, गुम्बाको ढोकैमा बसेर अवैध रुपमा चन्दा उठाएको, पूजाको नाममा अवैध असुली गरेको, विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रभित्रै अवैध टहराहरु निर्माण गरेकोलगायतका प्रमाणहरु हुँदा हुँदै गुठी विरुद्ध उनीहरुले नै आरोप लगाउनु निराधार भएको गुठीले जनाएको छ । स्तुपा जिर्णोद्वारमा करोडौँ घोटाला गरेको यथार्थ लुकाउन गुठीमाथि नै लाल्छना लगाउन खोजेको पनि जारी विज्ञप्तिमार्फत जनाइएको छ ।

गुठीका प्रमुख धर्मगुरु रिन्पोछे भूपति बज्र लामाले आफू र आफ्नो धार्मिक संस्थाको बदनाम गराउन केही स्वार्थी व्यक्ति तथा समूहहरु लागिपरेको बताए । उनले आफूमाथि लागेका आरोपहरु निराधार र कपोलकल्पीत भएको भन्दै त्यसको खण्डन गरे । बौद्ध स्तुपा नेपाल र बौद्धमार्गीको सम्पदा मात्र नभई संसारको चासोको विषय पनि भएको बताउँदै उनले यो पवित्र स्थललाई विवादित बनाउन खोजिएको बताए । उनले भने, ‘बौद्ध धर्म दर्शन र धर्मगुरुलाई अनावश्यक विवादमा मुछ्ने र लान्छना लगाउने कार्य हुन थालेको छ । यो आफैँमा बौद्ध दर्शन र धर्मप्रतिको घोर अपमान हो ।’

आफ्नो दोहोरा नागरिकता नभएको, आफू नेपाली भएको र नेपालप्रति अगाध माया रहेको पनि धर्मगुरु भूपतिबज्र लामाले बताए । सम्पदाको सुरक्षा गर्नु गुठीको कर्तव्य भएको बताउँदै यहाँ कसैले पनि चलखेल गर्न नपाउने उनले बताए । आफू नेपाल सरकारको आधिकारिक नियुक्ति पाएको व्यक्ति भएकोले पनि गुठी, स्तुपा र यसको चल, अचल सम्पत्तिको रक्षा गर्नु आफ्नो दायित्व भएको उनले बताए ।

कार्यक्रममार्फत जारी गरिएको विज्ञप्तिमा निराधार, कपोलकल्पित आरोपको भ्रममा नपर्न सबैसँग आग्रह पनि गरिएको छ । आरोप लगाउनेहरु नै आर्थिक चलखेल र बौद्धनाथ क्षेत्रका अतिक्रमणकारी भएको बताउँदै सरकारी जग्गा मिच्ने, सम्पदामा हानी नोक्सानी पुर्याउनेमाथि कारबाही हुनु पर्ने माग गरिएको छ । पटक पटक गुठी संस्थान र सर्वोच्च अदालतले निर्देशन र आदेश दिँदा पनि यस्ता गलत कार्य नरोकिएकोले फेरि पनि अदालत जानु पर्ने अवस्था आएको गुठीका कानुनी सल्लाहकार रमेश पोखरेलले बताए ।

Loading...