नेपाली कांग्रेस झापाले गर्यो भातृ तथा शुभेच्छुक संस्थाहरुसँग अन्तरक्रिया

प्रदेश मुख्य समाचार

केशवराज भण्डारी, झापा, १९ माघ, नेपाली कांग्रेस झापाले भातृ तथा शुभेच्छुक संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम आज सम्पन्न गरेको छ । पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा बोल्दै नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले वर्तमान सरकार अधिनायकवादी बन्दै गएकाले लोकतन्त्रमाथि नै खतरा देखिएको बताए । नेपाली कांग्रेसको राजनैतिक इतिहास श्रमिक र किसान आन्दोलनसँग जोडिएको बताउँदै लोकतन्त्रका लागि कांग्रेस जस्तोसुकै संघर्ष गर्न तयार रहेको सभापति थापाको भनाई थियो ।

कार्यक्रममा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका सदस्य तथा नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले अहिले सूचना प्रविधिको अधिकतम उपयोग गर्ने ब्यक्ति शक्तिसम्पन्न हुने अवस्था आएको बताउँदै लोकतन्त्र बलियो बनाउन कांग्रेसले गरेका कामको अधिकतम प्रचार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्दै कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले प्रक्रियागत रुपमा भएका विकास निर्माण तथा कतिपय सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमहरुको गलत प्रचार गरेको आरोप लगाउँदै भ्रमात्मक प्रचारमा नलाग्न सुझाव दिएका थिए ।

पच्चिस भन्दा बढी भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सांगठनिक संरचनाको अवस्था र समयसान्दर्भिक टिप्पणी गरेका थिए । कार्यक्रममा उनीहरुले वडा केन्द्रित कार्यक्रम विस्तार गर्नुपर्ने, कांग्रेस कार्यकर्तालाई सक्रिय बनाउन नियमित कार्यक्रम सञ्चालन गर्नुपर्ने, गुटगत राजनीतिको अन्त्य गरी लोकतान्त्रिक संस्कार पद्धतिको विकास वडादेखि केन्द्रीय समितिसम्म गर्नुपर्ने, न्यायिक पहुँचका लागि गराइने समानुपातिक प्रतिनिधित्वलाई एक ब्यक्ति–एक कार्यकालको नीति अपनाइनुपर्ने लगायतका सुझाव राखेका थिए ।

Loading...