डा. केसीले चौबिस दिनदेखि जारी अनशन तोडे

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, १८ माघ, चौबिस दिनदेखि अनशनरत डा. गोविन्द केसीले आफ्नो आमरण अनशन शुक्रबार साँझबाट तोडेका छन् । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरिसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएको भन्दै उनले अनशन तोडेका हुन् ।

डा. केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनशनको अन्त्य गरेका हुन् । अनशन तोड्दै डा.केसीले असिमित सम्बन्धनलाई कानुनी बैधता दिने गरी पास भएको विधेयक अहिलेकै अवस्थामा स्वीकार्य नहुनेसमेत बताएका छन् ।

डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको आरोप पनि लगाएका छन् । साथै विधेयक पास गर्न सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको पनि बताएका छन् ।

पछिल्लो चरणको अनशनमा चौतफी दबाब बढेको र पक्ष र विपक्ष विभाजित भएकोले पनि उनलाई अनशन बसिरहन सहज परिस्थिति बनेको थिएन ।

Loading...