रेष्टुरेन्ट तथा बारहरुले लगाउँदै आएको १० प्रतिशत सेवा शुल्क हटेकोमा स्वागत

आजको बजार मुख्य समाचार

काठमाडौँ, १८ माघ, विगत १३ वर्षदेखि रेष्टुरेन्ट तथा बारहरुले लगाउँदै आएको १० प्रतिशत सेवा शुल्क हटेकोमा कन्जुमर आई नेपालले स्वागत गरेको छ । राजधानीको नयाँ बानेश्वरमा शुक्रबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै उक्त संस्थाले उपभोक्ताको हित र अधिकारको विषयमा भएको यो निर्णयको आधिकारिक रुपमा स्वागत गरेको हो ।

सन् २००६ को डिसेम्बर १३ बाट ट्रेड युनियन र होटल संघ नेपालले सम्झौता गरेर ग्राहकसँग सेवा शुल्क लिने निर्णय गरेका थिए । सेवा शुल्कका कारण ग्राहक र उपभोक्ताहरु थप मारमा पर्दै आएका थिए । यो सेवा शुल्क हटाउने निर्णय उपभोक्ताको पक्षमा भएकोले यसको स्वागत गरिएको संस्थाकी अध्यक्ष विमला खनालले बताइन् ।

कुनै दुई वा दुई भन्दा बढी पक्ष मिलेर सेवा उपभोग गर्ने उपभोक्तासँग सेवा निर्धारित अधिकतम मूल्यमा थप व्ययभार पुग्ने गरी लिने कर नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ तथा आर्थिक ऐन नियम अनुसार पनि अवैधानिक र अनैतिक ठहरिन्छ । तर संविधान तथा कानुनको मर्म र भावनाअनुरुप उपभोक्ताको हितलाई मध्यनजर गर्दै २०७५ माघ १४ गते सोमबारका दिन रेष्टुरेन्ट तथा बार एसोसियसन नेपाल (रेवान) ले काठमाडौँ, पोखरा र सौराहाको भेलाबाट यस्तो सेवा शुल्क बापतको कम नलिने र लिन नपाउने निर्णय गरेको छ ।

रेवानको यो निर्णय स्वागत योग्य र प्रशंसायोग्य भएको भन्दै अध्यक्ष खनालले रेवानलाई धन्यवाद दिइन् । साथै अध्यक्ष खनालले यो निर्णयको प्रभावकारी कार्यान्वयन र अनुगमनकालागि पनि सरोकारवाला निकायहरु समक्ष अनुरोध गरेकी छिन् ।

कार्यक्रमका प्रमुख अतिथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले समृद्ध नेपाल र सुखी नेपालीको अभियान सफल पार्न उपभोक्ताको हीतलाई प्राथमिकता दिनु आवश्यक रहेको बताए । संघ, प्रदेश तथा स्थानीय तहले आवश्यक कानूनको अभावमा काम गर्न नसकिरहेको स्ष्ट पार्दै महानिर्दैशक गौचनले यो अवस्था अझै एक, डेढ वर्ष कायम रहनसक्ने औँल्याए । उपभोक्ता संरक्षण ऐन बने पनि अन्य आवश्यक नियमावलीहरु बन्न बाँकी रहेकोले त्यसको द्रुत गतिमा पहल भइरहेको पनि उनले जानकारी दिए ।

महानिर्देशक गौचनले सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषको व्यवस्था गरिदिएपछि रेवानले सेवा शुल्क बापतको रकम लिन छोडेको स्पष्ट पारे । एउटा संस्थाले सेवा शुल्क हटाएर राम्रो सुरुवात गरेको भन्दै गौचनले अन्य संघ, संस्थाले पनि उपभोक्ता विरोधी शुल्कहरु तत्काल हटाएर सहयोग गर्नु पर्ने बताए । कार्टेलिङ गर्ने र यो र त्यो बहानामा उपभोक्ता ठग्ने तथा श्रमिकलाई मारमा पार्ने कार्य बन्द हुनुपर्ने बताउँदै गौचनले विभागले यस्ता विषयमा नियमित अनुगमन गर्ने पनि आश्वासन दिए ।

कार्यक्रमका अतिथि युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले रेष्टुरेन्ट तथा बारको सेवा शुल्क हट्नु सुखद रहेको बताउँदै आगामी दिनमा अन्य क्षेत्रमा पनि लागू हुनुपर्ने बताए । कार्य स्वागतयोग्य भए पनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउँदै अध्यक्ष पौडेलले यो विषयमा सम्बन्धित निकाय गम्भीर हुनु पर्ने बताए । आन्दोलन र बन्दका नाममा उपभोक्ता मारमा परिरहेको बताउँदै पौडेलले सेवालाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरेर सोही अनुसारको कानून लागु गर्नु पर्ने पनि बताए ।

केही पत्रकारहरु, उपभोक्तावादी संघ, संस्थाका प्रतिनिधिहरु, सरोकारवाला निकायका प्रतिनिधिहरुसहितको सो अन्तरक्रिया कार्यक्रमको संयोजन रञ्जनराज खनालले गरेका थिए ।

Loading...