धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिइएको जग्गाविरुद्ध सर्वोच्चमा मुद्दा

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौँ, १८ माघ, मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेपछि विवाद सुरु भएको छ । फाउन्डेसन र उक्त महानगरबीच रंगशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो ।

सर्वोच्च अदालतमा मुद्दा परेको जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा दिइएको छ ।


त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र उक्त महानगरबीच रंगशाला बनाउन सम्झौता भएपछि विवाद भएको नेपाल समाचार पत्रले लेखेको छ ।

त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले करिब ५ वर्षअघि सर्वोच्चमा मुद्दा परेको जानकारी दिए । स्रोतका अनुसार त्रिविले मुद्दा हाले पनि करिब एक वर्षअघिको मन्त्रिपरिषद् बैठकले उक्त जग्गामध्ये ४० बिगाहा र शक्तिखोरको ३ सय बिगाहा त्रिविलाई उपलब्ध गराउने निर्णय गरेको भए पनि कार्यान्वयन भने भएको छैन । उपकुलपति प्राडा खनियाँले शक्तिखोरको जग्गा त्रिविको नाममा नआएसम्म मुद्दाको किनारा नलाग्ने स्पष्ट पारे । महानगरपालिकाका मेयर रेणु दाहालले भने यसको टुङ्गो लगाउन त्रिविसमक्ष आग्रह गर्दै आएको बताइन्छ ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गत चैतमा फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेपछि महानगरले जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । गत भदौमा सम्पन्न कृषि तथा वन विश्वविद्यालयको सिनेट बैठकमा उपकुलपति ईश्वरीप्रसाद ढकालले त्रिविको नामको उक्त ३ सय ५६ बिगाहा जग्गा विश्वविद्यालय मातहतमा ल्याउन प्रस्ताव गरेका थिए तर विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि सो प्रस्ताव खारेज भएको थियो ।

त्यसपछि नेकपाका अध्यक्ष एवं मेयर रेणुका बुबा पुष्पकमल दाहालले धुर्मुस–सुन्तली फाउन्डेसनलाई जग्गा प्रदान गर्न ल्याएको प्रस्ताव स्विकार्न त्रिविका उपकुलपतिलाई आग्रह गरेकी थिइन् । त्यसलगत्तै प्रचण्डको नेतृत्वमा कृषि तथा वन र त्रिविका उपकुलपति चितवनका स्थानीय पार्टीका नेता, मेयर, सबै वडाका अध्यक्षसँग छलफल गरी त्रिविको नाममा रहेको जग्गा फाउन्डेसनलाई दिने निर्णय गरिएको थियो । उपकुलपति खनियाँले शक्तिखोरको दिने भनिएको जग्गा कृषि तथा वन विश्वविद्यालयलाई जग्गा दिन सकिने बताए ।


कृषि तथा वन विश्वविद्यालयको ऐन २०६९ मा पनि त्रिविको नाममा रहेको जग्गा कृषि तथा वन विश्वविद्यालयको हुने उल्लेख छ ।

फाउन्डेसनले प्रस्तावित रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राखेको छ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गर्ने फाउन्डेसनको योजना छ ।