बौद्धका चिनियाँ लामा भूपति बज्रलाई हटाउन माग गर्दै विरोध प्रदर्शन

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १७ माघ, बौद्ध महास्तुपाका लामा रिम्पोछे भूपतिबज्र भ्रष्ट भएको भन्दै तत्काल कारबाही गर्न र हटाउन माग उठेको छ । ‘बौद्ध स्तूपा जोगाऔँ, नक्कली गुरु रिन्पोछे भूपतिबज्र हटाऔँ संघर्ष समिति’ ले आज बौद्ध स्तुपा परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो ।

भूपतिबज्र लामाले नियुक्त भएदेखि नै बौद्धलाई आफ्नो पेवा ठानी विभिन्न विवादास्पद क्रियाकलापहरु गर्दै आएको आरोप संघर्ष समितिले आरोप लगाएको छ । सम्पदाको मूल्य, मान्यता विपरीत बौद्धलाई कुरुप देखिने गरी ठूलो डिस्प्ले स्क्रीन राखेको, बौद्धको संवेदनशील क्षेत्र भित्र जेनेरेटर राखेको, झिलिमिलि बत्ती बाल्ने नाममा स्तुपमा ड्रिल गरी प्वाल पारी स्तूपमा क्षति पुर्याएको, घ्याङ गुठीलाई स्वेच्छाचारी ढंगले सञ्चालन गरेको, गुरु रिन्पोछेको अपमान गरी आफूलाई स्वघोषित गुरु रिन्पोछेको औतारी भनेर भ्रम फैलाएको लगायतका २० वटा आरोप लगाउँदै समितिले तत्काल कारबाही गर्न माग गरेको छ ।

गुरु भूपतिबज्रलाई आवश्यक कारबाहीसहित बर्खास्त गर्न समितिले प्रधानमन्त्रीको कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गुठी संस्थान, पुरातत्व विभाग लगायतका ठाउँमा निवेदन दिँदा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएकोले संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य भएको संघर्ष समितिका संयोजक खड्गजीत लामाले बताए । उनले आफ्ना माग पुरा नहुन्जेल संघर्ष जारी रहने पनि बताए ।

समितिका प्रवक्ता सम्पूर्ण कुमार लामाले माघ १७ गते बौद्ध परिसरबाट बौद्ध पिपलबोट र बौद्ध टुसाल चोक र्यालीले परिक्रमा गर्ने र बौद्ध परिसरमा कोणसभा गर्ने, माघ १८ गते गुठी संस्थान केन्द्रीय कार्यालय, पुरातत्व विभागमा डेलिकेसनसहित ज्ञापनपत्र बुझाउने र ल्होछारपछि अन्य चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जनाए ।

समितिले चिनिया लामा भूपतिबज्र लामालाई तत्काल कारबाही गर्न, हटाउन र जनभावना अनुसार तत्काल व्यवस्थापन समिति बनाई पारदर्शी एवम् व्यवस्थित ढंगले घ्याङ गुठी संचालन गर्न तीन बुँदे माग गरेको छ ।

संघर्ष समितिमा बौद्ध तामाङ कल्याण गुठी, माननीय छिरिङ दोर्जे लामा, कामपा ६ नं वडाका अध्यक्ष दिपेन्द्र लामा, नेपाल बौद्ध महासंघका आचार्य नोर्बु शेर्पा, छोरङान महिला समाज, ओम तामाङ सुख, दुःख सेवा गुठी, चारुपति विहार, देय भ्वयः गुठी, श्री प्राचीन अनुवाद एकमात्री गुरु संघ लगायत रहेका छन् । यसैगरी संघर्ष समितिमा विभिन्न २२ वटा संघ, संस्था, गुठीहरुले आवद्धता जनाएको पनि बताइएको छ ।