साहित्यकार धराबासी र पत्रकार राई पुरस्कृत

मुख्य समाचार साहित्य

केशवराज भण्डारी, झापा, १७ माघ, जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषद्वारा प्रत्येक वर्ष प्रदान गरिंदै आएको साहित्य तथा पत्रकारिता पुरस्कार बुधबार आयोजित एक कार्यक्रमका बीच प्रदान गरिएको छ । कोषको विर्तामोडस्थित सभाहलमा बुधबार आयोजित कार्यक्रममा सो पुरस्कार हस्तान्तरण गरिएको हो ।

कोषले वर्षोत्कृष्ट कृतिका रुपमा स्रष्टा अर्चना थापाद्वारा लिखित उपन्यास कठपुलतालाई घोषणा गरेको छ । यसैगरी विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवातर्फ साहित्यकार कृष्ण धरावासी र धनमाया सक्रिय वर्षोत्कृष्ठ पत्रकारिता पुरस्कारबाट भारती राईलाई पुरस्कृत गरिएको हो ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक साहित्यकार गोपाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुरस्कृत स्रष्टाहरुलाई प्रमुख अतिथि भण्डारी तथा कोषका अध्यक्ष प्रसाईले दोसल्ला, सम्मान पत्र र नगद राशीसहित सम्मान गरे । पुरस्कारको राशी नगद २१ हजार रहेको छ ।

कार्यक्रममा कृतिकी लेखिका अर्चना थापाको व्यक्तित्व चर्चा साहित्यकार मुनाराज शेर्माले गरेका थिए भने साहित्यकार कृष्ण धराबासीको व्यक्तित्व परिचय लोकराज ढकालले गरेका थिए । त्यस्तै पत्रकार भारती राईको व्यक्तित्वबारे पूर्व पुरस्कृत प्रतिभा सुष्मा राजवंशीले गरेकी थिइन् ।

कार्यक्रममा नुरज भट्टराई, देवी संग्रौला लगायतले कविता वाचन पनि गरेका थिए । केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सचिव राजेन्द्र प्रसाईले अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रमको औचित्यमाथि उपाध्यक्ष विष्णुकुमार भट्टराईले प्रकाश पारेका थिए ।

Loading...