नगरपालिकाले लगाएको खोला ठेक्कामा स्थानीयको अवरोध

मुख्य समाचार समाज

केशवराज भण्डारी, झापा, १७ माघ, झापाको अर्जुनधारा नगरपालिकाले लगाएको खोला ठेक्कामा स्थानीयवासीले अवरोध गरेका छन् । विगतका वर्षहरुमा जिल्ला विकास समिति मार्फत लगाउदै आएको ठेक्का यस वर्ष भने अर्जुनधारा नगरपालिकाबाटै लगाएको छ । टाङटिङ, विरिङ, गोयाङ र ठुलो नेते खोला वार्षिक २ करोड ६१ लाख रकममा एस यु एस कम्पनीलाई ठेक्का लगाएको छ ।

स्थानीयबासीले खोलामा मनपरी ढंगबाट स्काभेटर प्रयोग गरेर ढुंगा, गिटी र बालुवा उत्खनन गरेको भन्दै अवरोध गरेका छन् । स्थानीयहरु खोला गहिरिएर नहर, पैनी, इनार सुकेको गुनासो लिएर नगरपालिकामा आएका छन् । तर स्थानीयहरुले भने अनाधिकृत रुपमा उत्खनन गरिरहेको पाइएको छ । खोलाको स्थलगत निरीक्षणका क्रममा भने तिनै स्थानीयहरुले नगरले आइ ई गराएर उत्खननका लागि निषेध गराएका क्षेत्रमै मापदण्ड विपरित खोला गहिरिने गरी दोहन गरिरहेको पाइएको छ ।

अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय सरोकार वाला निकाय, राजनीतिक दलका अगुवाहरु, सञ्चारकर्मीसहितको टोलीले स्थलगत निरीक्षण गरेको समयमा टाङटिङ खोलाको शिरदेखि तिरसम्मै स्थानीयहरु तछाड मछाड गर्दै खोला दहन गरिरहेको भेटिएको छ । खोलामै छाप्रो लगाएर दोकानसमेत थापी खोला दोहन गरिरहेका नागरिकहरु राष्ट्रपती चुरे संरक्षण क्षेत्र जहाँ कुनै पनि मौसममा खोला उत्खनन गर्न पाइदैन त्यस्ता क्षेत्रहरुमा समेत अनाधिकृत रुपमा खोला दहन गरिरहेको पाइएको छ । त्यति मात्र होइन खोला उत्खननका लागि निषेधित क्षेत्रमा ५ वटा टिफर र एउटा स्काभेटर उत्खननको तयारीमा रहेको पाएपछि प्रशासनको जिम्मा लगाइएको छ ।

स्थानीय नागरिकहरुले अनाधिकृत रुपमा खोला दोहन गरेर आयआर्जन गरिरहेका छन् भने उता ठेकेदार कम्पनी भने नगरपालिकालाई चौविस घण्टे अल्टिमेटम दिएर उत्खननको लागि वातावरण बनाइदिन नगरसँग आग्रह गरिरहेको छ । अर्जुनधारा नगरपालिकाले भूगर्भविदको सहयोगमा खोला उत्खननका लागि आइ इ प्रतिवेदन तयार गरी उत्खननका लागि योग्य ठउँ, लम्वाई, गहिराई लगायतका मापदण्ड बनाएर खोलाबीचबाट च्यानलाइज हुने गरी, खण्ड खण्ड गरेर ठेक्का लगाएको छ । प्रतिवेदन अनुसार बनेको मापदण्ड अनुरुप उत्खनन भए बाढीको जोखिम कम हुने देखिन्छ भने इनार, कल सुक्ने समस्या पनि विस्तारै निराकरण हुने देखिएको छ । नगरपालिकाले ठेक्काबाट आएको रकमको ३० प्रतिशत रकम भने खोला क्षेत्रमै प्रयोग गर्ने जनाइसकेको छ । खोलामा पानीको सतह गहिरिन नदिनका लागि सुख्खा ग्रस्त क्षेत्रमा खोलाबीचमा चेक ड्याम निर्माण गरी पानी माथि निकाल्ने विधि अपनाउनका लागि संघ र प्रदेशबाट बजेट माग गर्ने नगरपालिकाले जनाएको छ ।