राष्ट्रिय सहिद तथा शान्ति पार्कमा सहिदको सम्झना

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ, १६ माघ, काठमाडौँको गोकर्णेश्वरमा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्कमा आज सहिद दिवसको अवसरमा सहिदहरुको सम्झना गरिएको छ । पार्क निर्माण तथा व्यवस्थापन समितिको आयोजनामा सहरी विकास मन्त्री, मन्त्रालयका सचिव, सांसद, सहिदका परिवार तथा स्थानीय र सरोकारवालाहरुको उपस्थितिमा एक भव्य कार्यक्रमको आयोजना गर्दै सहिदहरुको सम्झना गरिएको हो ।

सहिदहरूको तस्विरमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालको प्राजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुमा श्रद्धान्जली व्यक्त गरे । उनले भने, ‘पञ्चायत कालमा प्रथम जनआन्दोलनमा बहुदलका लागि ज्यान उत्सर्ग गर्ने, जनयुद्ध, मधेश जनविद्रोह लगायत विभिन्न समुयदाय, जाति, वर्ग, क्षेत्रको आफ्नो पहिचानकोलागि ज्यान गुमाउने सहिदहरुमा हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु ।’

आफू मन्त्री भएर आउँदा यो पार्कको अवस्था के हुने र कस्तो हुने भन्ने केही नभएकोले त्यसमा अध्ययन गरी यो पार्कलाई व्यस्थित गर्ने काम आफूले गरेको उनले बताए । यस्ता संरचनाहरुलाई संरक्षण गर्नु पर्ने आफ्नो मान्यता अनुसार पार्क व्यवस्थापनमा सरकार र मन्त्रालय गम्भीर रहेको उनले बताए । पार्क निर्माणकालागि आवश्यक पहल भइरहेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित सोही क्षेत्रका सांसद कृष्ण राईले सहिदहरुमा श्रद्धान्जली व्यक्त गर्दै कसैले पनि पार्टीगत मान्यता भन्दा माथि उठेर सहिदहरुको सम्झना र सम्मान गर्नु पर्ने बताए । पार्टीगत सोचले वास्तविक सहिदहरुलाई अपमान भएको भन्दै सांसद राईले पार्क व्यस्थित गरेर सबैको अपनत्व गर्ने वातावरण बनाउन पनि सरकारसँग आग्रह गरे ।

कार्यक्रमलाई संवोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले आफ्नो क्षेत्रमा सहिद पार्क बनेकोमा खुसी व्यक्त गर्दै त्यसलाई पुरा गर्नु पर्ने बताए । आफूले अर्को पनि पार्क बनाउने संकल्प लिएको बताउँदै मेयर चालिसेले सहिदहरुप्रति श्रद्धान्जली दिनकै लागि आफूले सो कार्य गर्न लागेको जनाए ।

अध्यक्ष सुदर्शन सिग्देल

कार्यक्रमका सभापति तथा समितिका अध्यक्ष सुदर्शन सिग्देलले कार्यक्रममा एक प्रतिवेदन पनि पेश गरेका थिए । पार्क व्यवस्थापन र निर्माणमा उचित ढंगले काम नभइरहेको बताउँदै अध्यक्ष सिग्देलले सरकारले यसकालागि चाँडो पहल गर्नु पर्ने बताए । उनले सरकारद्वारा विनियोजन गरेको बजेट पनि नआएको बताउँदै आएको बजेटले पनि ठेकेदारले काम नगरेको गुनासो गरे । मन्त्रालयबाटै नियुक्त ठेकेदारले काम सम्पन्न नगरी भागेको भन्दै उनले ठेकेदारलाई कारबाही गरेर नयाँ सम्झौता बमोजिम काम सम्पन्न गर्नु पर्ने बताए । ठेकेदारको प्रवृत्ति नै गलत भएको बताउँदै उनले यसलाई सुधार्न र स्थानीय समितिलाई थप जिम्मेवार बनाउन पनि सरकारलाई आग्रह गरे ।

समितिका कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठ

कार्यक्रमका अतिथिहरुलाई स्वागत गर्दै समितिका कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठले ठेकेदारको बदमासीले ११ वर्षमा पनि पार्क व्यवस्थापनको काम सम्पन्न गर्न नसकिएको दुखेसो व्यक्त गरे । उनले करिब २० करोड रकम पनि मन्त्रालयबाट नआएकोले भौतिक संरचना निर्माण तथा थप व्यवस्थापन गर्न नसकिएको बताए । वार्षिक प्रशासनिक खर्च बापतको रकम पनि सरकारले केही वर्षदेखि नदिएको उनले गुनासो गरे । सरकारले स्थानीय समितिलाई उचित जिम्मेवारी र अधिकार पनि नदिने र बजेट पनि नदिने अनि काम भएन मात्रै भन्न नमिल्ने बताए । स्थानीय समतिलाई जिम्मेवारी दिए स्थानीय व्यक्तिहरु, स्थानीय तह वा अन्य क्षेत्रबाट पनि काम गरेर देखाइदिने उनले चुनौति पनि दिए ।

कार्यक्रममा सहिद परिवारका सदस्यहरुले पनि आ–आफ्नो विचार व्यक्त गरेका थिए । मन्त्री राईले हतार छ भन्दै आफ्नो मन्तव्य चाँडै सकेर निस्किएपछि सहिद परिवारका सदस्यहरुले आफूले आफ्ना कुराहरु सरकारलाई सुनाउन नपाएको गुनासो गरे । हुन त सांसद कृष्ण राईले पनि मन्त्रीलाई सहिद परिवारका केही कुरा सुनिदिन आग्रह गरेका थिए तर मन्त्री हिडेपछि सहिद परिवारको गुनासो, आवाज वा विचार गोकर्णमै सिमित भयो ।