दमकमा बृहत बाल महोत्सव हुने

आजको बजार मुख्य समाचार

केशवराज भण्डारी, झापा, १६ माघ, नेपालको प्रदेश नं. १ मै पहिलो पटक झापाको दमकमा ‘बालमैत्री स्थानीय सरकार, हामी सबैको सरोकार’ भन्ने मुल नाराका साथ बृहत बाल महोत्सव हुने भएको छ । दमक नगरपालिका मुख्य आयोजक रहेको महोत्सव माघ १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने मुल आयोजक समितिले जानकारी गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सवमा विभिन्न विषयका विषयगत उपसमिति निर्माण गरी काम तिव्र रुपमा अगाडि बढाइए आयोजकले जनाएको छ । दमक नगरपालिका उपप्रमुख गिताकुमारी पौडेल (अधिकारी)लाई महोत्सवको अध्यक्ष तोकिएको छ । सरसफाई, बाल प्रतिभा, सहभागि समन्वय, बाल प्रतिभा छनौट, खेल तथा मनोरञ्जन, पार्किङ ब्यवस्थापन, सुरक्षा, लगायतका उपसमिति निर्माण गरी काम तिब्र बनाइएको छ । त्यसैगरी म्याथ ओलम्पियाड, हाजिरीजवाफ, चित्रकला प्रदर्शनी तथा प्रतियोगिता, कविता प्रतियोगिता, निबन्ध प्रतियोगिता, विज्ञान प्रदर्शनी, वक्तृत्वकला, बाल झाँकी लगायतका उपसमिति निर्माण गरी कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

करिब ५९ लाखको लागतमा सञ्चालन हुने महोत्सवमा बालबालिकाले तारापुञ्ज अवलोकन गर्न पाउने मुल आयोजक समितिकी संयोजक अधिकारीले बताइन् । महोत्सवमा मनोज गजुरेल, राजा राजेन्द्र, सत्यराज आचार्य, स्वरुपराज आचार्य, विल्सन विक्रम राई, अशोक दर्जी, टंक वुढाथोकी, रमेश भट्टराई, निलम ढुंगाना लगायतका कलाकारको बेजोड प्रस्तुती पनि रहने जनाइएको छ ।

महोत्सवका कृयाकलापमा सहभागि हुनका लागि हालसम्ममा १६ हजार भन्दा बढि बालबालिकाले अन्लाइन फर्म भरिसकेको बताउदै संयोजक अधिकारीले आधारभूत र माध्यमिक तहका आधारमा सहभागिता गराइने बताइन । महोत्सवमा आवश्यक पर्ने खर्च नपुग भएमा केन्द्र र प्रदेश सरकारबाट पनि सहयोगको आश्वासन आएको अधिकारीले बताइन् । महोत्सवबाट फाइदा भएमा सडक बालबालिकाको ब्यवस्थापनमा खर्च गर्ने पनि संयोजक अधिकारीले जानकारी दिएकी छिन् । साथै सम्पूर्ण विषयगत उपसमितिहरुले आ–आफ्नो जिम्मेवारीका काम पुरा भएको जानकारी दिएका छन् ।