नेपालमा भ्रष्टाचार झन् मौलायो

आजको बजार मुख्य समाचार

काठमाडौँ, १६ माघ, नेपालमा भ्रष्टाचार झन् झन् बढ्दै गइरहेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ । संसारभर एकै पटक सार्वजनिक हुने ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) को प्रतिवेदनले नेपालमा भ्रष्टाचार घट्नुको साटो झन् बढेको देखाएको हो ।

कूल १८० देशका सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यवसायीको अवधारणा मापनअनुसार ३१ अंक प्राप्त गरी नेपाल भ्रष्टाचारजन्य मुलुकको १२४ औँ स्थानमा हरेको छ ।

एक वर्षमा गरेका सर्वेक्षणअनुसार निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार घट्न नसकेको देखिएको हो । व्यापार, व्यवसायमा घुस, सार्वजनिक पद र अधिकार दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेको टीआईले देखाएको छ । काठमाडौँमा मंगलबार आयोजित भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ सार्वजनिक कार्यक्रममा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको जनाएको छ ।

यस वर्षको सूचकाङ्कमा समावेश भएका १८० देशमध्ये डेनमार्क कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सूचिकृत भएको छ ।

यता दक्षिण एसियाली राष्ट्रहरुमा भुटान ६८ अङ्क प्राप्त गरी २५ औँ स्थानमा, भारत ४१ अङ्क प्राप्त गरी ७८ औँ स्थानमा, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ८९औँ स्थानमा, पाकिस्तान ३३ अङ्क प्राप्त गरी ११७औँ स्थानमा, मालिदिभ्स ३१ अङ्क प्राप्त गरी १२४औँ स्थानमा छन् ।

यसैगरी बंगलादेश २६ अङ्क प्राप्त गरी १४९ औँ स्थानमा र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७२ औँ स्थानमा रहेका छन् भने चीन ३९ अङ्क प्राप्त गरी ८७ औँ स्थनमा रहेको छ ।

Loading...