भन्सारका रेडियो अपरेटर करिब १५ करोडका मालिक !

आजको बजार मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १६ माघ, त्रिभुवन अन्तर्राषिट्रय विमानस्थल, भन्सार कार्यालयको रेडियो अपरेटर (एक्सरे सञ्चालक) श्यामकृष्ण चामु श्रेष्ठसँग करिब १५ करोड बराबरको सम्पत्ति रहेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसँग अकुत सम्पत्ति रहेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेपछि यस्तो खुलासा भएको हो ।

उनीविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अवैध रुपमा ३३ किलो सुन तस्करीको अभियोगमा समेत मुछिएका श्रेष्ठ एक वर्षदेखि निलम्बनमा छन् । सुन प्रकरणमा अघिल्लो पुस २७ देखि श्रेष्ठलाई नियलम्बन गरिएको हो ।

वि.सं. २०५३ चैत ५ देखि सार्वजनिक सेवामा रहेका श्रेष्ठसँग १४ करोड ६१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति रहेको अख्तियारको दाबी छ । श्रेष्ठले गैरकानुनी रुपमा आर्जन गरेको र सो सम्पत्तिबाट बढाएको समेत गरी १४ करेड ६१ लाख २४ हजार ४७८ रुपैयालाई विगो र विगोबमोजिमको जरिवानासमेत अख्तियारले दाबी गरेको छ ।

अख्तियराले श्रेष्ठ र उनको सगोलमा रहेको परिवारका सदस्यबाट प्राप्त आय, पारिश्रमिक, बचत, सेयर लगायको मूल्याङ्कनमा नौ करोड ६३ लाख आठ हजार ८२७ रुपैयाँ अवैध सम्पत्ति रहेको ठहर गरेको छ ।