नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई

खेलकुद मुख्य समाचार

काठमाडौँ, १५ माघ, यूएईविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जीत हासिल गरेकोमा नेकपाका अध्यक्ष प्रचण्डले बधाई दिएका छन् । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई हार्दिक धन्यवाद एवम् बधाई ज्ञापन गर्दछु उनले भनेका छन् ।

उनले आज जारी बिज्ञप्तिमा भनेका छन्, एकदिवसीय क्रिकेटका कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गर्दै शतक बनाउने पहिलो खेलाडी हुन सफल भएकोमा र शनिवारको खेलमा रोहित पौडेलले सबैभन्दा कलिलो उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्व रेकर्ड तोड्न सफल भएकोमा दुबै खेलाडीलाई बधाई दिँदै आगामि दिनमा अझै राम्रो प्रदर्शनको लागि उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

खेलाडीहरु राष्ट्रका गहना मात्र नभएर अमूल्य नीधि भएको बताउँदै प्रचण्डले उनीहरुको उचित सम्मान र प्रोत्साहनमा सिंगो राज्य समर्पित हुनेछ भन्ने विश्वास दिलाएका छन् ।