[संस्मरण] दामोदर स्कुल र हामी – प्रा.डा. विश्वनाथ भण्डारी

मुख्य समाचार साहित्य

‘हेलो’ – पोष ।
‘हजुर’ – म ।
‘खै लेख्नु भो त’ – पोष ।
‘भन्नु जस्तो सजिलो लेख्न कहाँ हुन्छ र ?’
हो, लेख्न सजिलो भएन । पटक्कै भएन । के लेखुँ, कसरी लेखौं ? दोधारमा भएँ म । पिताजी हामीसँग बिदा भएको झण्डै चार महिना भएछ । अहिले पनि पिता विहीन भएकोमा कता–कता पिताजीकै याद मात्र आइरहन्छ ।

म पिताजीसँग खाना खान्थें । पिताजीसँग स्कुल जान्थे । हाम्रो घरबाट दामोदर स्कुल नजिकै थियो । अलिक माथि करिव १५ मिनेटजस्तो लाग्थ्यो स्कुल पुग्न । हाम्रो घर स्कुलबाट अलि तल – परतिर पर्दथ्यो । बाटो गोरेटो थियो । बाटोमा द्यौराली थियो । द्यौरालीमा हामी ढुंगा चढाउँदै हिड्थ्यौं । कहिले कहिले ‘द्यौरालीलाई पाती’ भन्थ्यौं र पूmल पनि चढाउँथ्यौं । यो किन होला ? यसको के अर्थ होला ? म बबुरोलाई के थाहा ?

अर्को राती फेरि फोन बज्यो । यो फोन किशोर भण्डारीले गरेका रहेछन् । ‘हल्लो’ – म । चिनेचिनेको आवाज ‘दाजु नमस्ते’ – किशोर । नमस्ते, किन पो संझियौ भाइ – म । उनले पनि पोषरमण चापागाईं दाइले जस्तै लेख्ने कुरा पो गरे । म बढो असमञ्जस भएँ । किशोर भण्डारी भाइले दोहो¥याइ तेहे¥याइ भने ‘विश्वनाथ दाइ केही त लेख्नोस् है । हाम्रो पत्रिका स्मारिकामा छाप्नुपर्छ । कोसिस गर्छु – म÷म न धेरै ठूलो साहित्यकार न धेरै दाम कमाई नाम चलाएको मान्छे । म त सुरु सुरु पढने र पढाउनेमा तल्लीन भएको मान्छे । यो पढ्ने र पढाउने कामले नै तीन बीस काटेको । पोष दाइले घचघचाएरै ‘तातेनानी’ (२०६१) जन्म्यो । यो बालकविता संग्रह लेख्न र छाप्न उहाँकै हुटहुटीले काम गरो । ‘उराँव भाषा र संस्कृतिको एक झलक’ (२०६१) पनि उराँव भाइहरुकै इच्छा हुँदा लेखियो । छापियो । मैले विद्यावारिधिको अध्ययन गर्दा यो सब काम गर्नुपर्ला भनि सोचेकै थिइन । तर साथीभाइको संगतले यतातिर पाइला चालियो । साथी धनप्रसादजीसँगको बसउठले भाषा विज्ञानतिर पनि पाइला चालियो । ‘सरल भाषा विज्ञान’, ‘सरल स्नातक भाषाविज्ञान’, ‘भाषा विज्ञानका संप्रदाय र सिद्धान्त’ नामका कृतिलाई प्रकाशनमा ल्याइयो । अनि प्राध्यापक पदमा प्रतिस्पर्धा गर्न अरु पनि सामग्री आवश्यक हुँदा ‘फरक समीक्षा फरक समालोचना’ र ‘केवलपुरे किसानः व्यक्ति र कृति’ जस्ता पुस्तक लेखियो । प्रकाशन गरियो । निश्चय नै प्राज्ञिक प्रयोजनका लागि गरिएका यी प्रयासले कति साथीभाइले चिन्नु भयो । कतिले बिर्सनु भयो । नजिकबाट चिन्नु भएकाले चाहिं अभैm घच्घचाउँदै हुुनुहुन्छ – ‘लेख कि लेख’ भनेर ।

दामोदर स्कुल मेरो प्राथमिक पाठशाला । यो स्कुलमा म हिड्न थालेदेखि नै जान्थें भन्दा हुन्छ । ख्याल–ख्यालमै स्कुल गइएछ । ख्याल–ख्यालमै पढ्न थालिएछ । हाम्रो घरमा लाटी भैंसी थियो । मोटो रहरलाग्दो भैंसी । लाटी भैंसी सारै सोझो भैंसी । कसैको बालीनाली नखाने भैंसी । आमाले भारीका भारी घाँस काट्नु हुन्थ्यो । हाम्री आमा घाँस काट्न र खेत रोप्न मापाकी हुनुहुन्थ्यो । एकदमै छिटी । अरुले एकभारी घाँस काट्दा आमाले ४ भारी काट्ने । घरबाहिरको काममा कहलिएकी । एक नम्बरमा कहलिएकी । त्यो घाँस सधैंजसो पिताजीले गाइगोरु भैंसीलाई दिनुहुन्थ्यो । लाटी भैसी घाँस खाएर सुतिरहने सन्तोकी थियो । हामी स्कुलजाँदा कतिपटक त लाटी भैंसी दाम्लो चुडाएर हामी सँगसँगै पछिपछि लागेर स्कुल गएको छ । दिनभरि स्कुलमा सुतेको छ । हामी सँगसँगै स्कुलबाट घर फर्किएको छ । हाम्रो घरबाट मान्छे मात्र होइन भैंसी पनि स्कुल गएको छ त्यो बेला ।

पिताजी पढाउनु हुन्थ्यो । हामी पढ्थ्यौं । सुन्थ्यौं । भैंसी पनि सुन्थ्यो । स्कुलबाट कतै जाँदैनथ्यो । बरु ढोका अगाडि सुत्थ्यो । आज यो सब सम्झदा मलाई हाँसो पनि उठ्छ । अचम्म पनि लाग्छ । पशु पनि त गजबकै हुन्छन् नि । दोस्रो स्वभावका पशु । कस्तो विचित्रको थियो त्यो समय ।
त्यो बेला गाउँमा स्कुल थिएनन् । सहर बजारमा त स्कुलको संख्या नगन्य थियो भने गाउँमा झन् स्कुल हुने कुरै थिएन । त्यहाँ, त्यस भेगमा हुने खानेमा दरिएका थिए – रिजाल, आचार्य र खतिवडा परिवार । हाम्रो भण्डारी परिवार हुँदा खाने । श्रममा निर्भर भई बेस्सरी काम गर्ने खानेमा पथ्र्यो । उहिलेदेखि नै धार्मिक, सांस्कृतिक आस्था र विश्वासमा रमाइ रहेको परिवार थियो । रिजाल आचार्यकै निष्ठावान– गुरुखलकमा दरिएको परिवार थियो – भण्डारी परिवार । ज्ञान बाड्नु आस्था र संस्कृतिलाई बचाउनु आफ्नो परंकर्तव्य ठान्थ्यो यो परिवार । पितामह स्व. नरपति सारै सोझो भद्र निष्ठावान गुरुमा दरिनु भएको थियो समाजमा । पितामहका छ भाइ छोरा र चार बहिनी छोरी गरी एक दर्जनको परिवार थियो । पितामहका दाजुभाइका पनि मनग्गे नै सन्तान थिए । सन्तानले डाँडाकाँडा ढाकेका थिए । परन्तु सिंभुवामा पानीको सकस थियो – धेरै । पानी बोक्दैमा हजुरआमा आमाहरुको आधाबिहान जान्थ्यो । सल्लाको सुसाइसँगै जीवनको श्वास प्रश्वास गतिमान हुन्थ्यो । खडेरीले नचियाओस् भनेर नै होला – पितामह दैनिक होम–होमादिकार्यमा निरन्तर लाग्नु हुन्थ्यो । धार्मिक निष्ठा–अनुष्ठान नै पितामहको ‘पँुजी’ थियो । पितामहले आफ्ना सबै सन्तानलाई धर्म–संस्कृति र संस्कारमा अभ्यस्त गराउनु भएको थियो । ठूलाले सानालाई माया दिनु र सानाले ठूलालाई आदर सम्मान गर्नु पुर्खाबाट स्वतः आएको चलन हो । यो चलनलाई पितामहका सन्तानले मूलमन्त्र माने । यो अहिलेसम्म नै कायम हुन सकेकोमा पुर्खाप्रति कृतकृत्य छौं भन्दा वेश हुन्छ ।

द्यौसी–भैलोको जगमा दामोदर स्कुल
तिहारमा द्यौसी–भैलो खेल्ने, मनोरञ्जन गर्ने चलन चलेको उहिलेदेखि नै हो । द्यौसी–भैलोलाई मनोरञ्जनका साथसाथै शिक्षाको ज्योति फिँजाउने माध्यम पार्नुपर्छ । पिताजी छविनाथ भण्डारीमा आएको यो सोचले २०१३ सालमा साँच्चै राम्रो काम गरेछ । दामोदर स्कुल खुल्यो । यसमा हरि रिजाल, वेणीमाधव भण्डारीको पनि ‘होस्टेमा हैंसै’ को भूमिकाले काम गरो । रात–रातभर खेलेको द्यौसी–भैलो र मुष्ठिदानले दामोदर स्कुल चलाउन केही भरथेग गरो । त्यो बेला पिताजी छविनाथ आपैंm अग्रसर भई स्वयंसेवी संस्थापक प्रअको भूमिकामा र मोतीप्रसाद अधिकारी, देवी प्रसाद ढकाल लगायतका सरहरुले स्वयंसेवक शिक्षक भई वर्षौसम्म नजोगाएको भए आज दामोदर स्कुल प्रा.वि.बाट मा.वि.मा काँचुली फेर्ने नै थिएन । हुँदाखानेका छोराछोरी शिक्षाको ज्योतिबाट नजिक हुने नै थिएनन् । जनताको जागरणले छलाङ मार्ने थिएन । सिंभुवाबासीले अभैm कति कष्ट पाउँथे ? सुयोग्य नागरिक बनी जीवन धान्न अभैm कति पापड बेल्थे । सिद्धान्तको गुड्डी हाँक्नु भन्दा मनको उदार व्यवहारको सुधारले दिगो प्रतिफल दिंदो रहेछ । के दामोदर स्कुलले यसलाई चरितार्थ गरेका छैन र ? पानी, बाटो र बिजुलीबाट वर्षौसम्म विमुख हुँदा पनि सतीसाल बनेर रहनु नै यसको विशेषता हैन र ? यसमा धेरैको बुद्धिले काम गरेको छ । सकारात्मक सोचले उर्जा दिएको छ । पसिनाको निरन्तरताले बल दिएको छ । अनि त दामोदर स्कुल आजको हैसियतमा पुगेको छ ।

दामोदर स्कुलका विद्यार्थी मेरा सहपाठी मित्र प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ प्रदेश नं. १ को प्रमुख बनेका छन् । अर्कामित्र इश्वरीप्रसाद अधिकारी धनकुटाकै चुलाचुली मा.वि.का साथै त्रिवेणी मा.वि.मा पनि प्र.अ. बनी सेवा दिइरहेका छन् । मित्र टंक लिम्बूले पनि धनकुटाकै स्कुलमा प्र.अ.को भूमिका निर्वाह गरिसेका, चिरञ्जीवी मिश्र, विष्ण्ॉ भण्डारी, तीर्थ मिश्र आदिले दामोदरको उन्नति प्रगतिमा हिजोदेखि आजसम्म नै विशेष भूमिका निर्वाह गरको जगजाहेर छ । हो, स्नातकोत्तर क्याम्पस विराटनगरका पूर्व क्याम्पस प्रमुख प्रा.डा. हरिहर भण्डारी, धरानका सर्वप्रिय चर्चित साहित्यकार प्रा.डा. गोपाल भण्डारीको पहिलो पाठशाला दामोदर स्कुल नै हो भने भूगोलविद् प्रा.डा. शम्भु खतिवडा, साहित्यसेवी सह प्रा.गोपाल अधिकारी, गोपाल पौडेल ‘वसन्त’ अर्थशास्त्री प्रा.डा. बलराम पौडेल मात्र होइन कि धनकुटा क्याम्पसमा प्राध्यापनरत लक्ष्मीकुमारी लिम्बु, मीना ढुंगेल वाग्ले आदि प्रतिभाशाली महिला पनि दामोदर स्कुलकै पूर्व छात्र–छात्रा हुन् भन्दा गौरवबोध नै हुन्छ । दामोदरका पूर्व चेलाहरूमा यज्ञ खतिवडा, गुरु खतिवडा, दामोदर मिश्र, पशुपति भण्डारी, केदार अधिकारी, रुद्र, डिल्ली, फणीन्द्र, गोपाल, कृष्ण, पत्रकार शरच्चन्द्र भण्डारी लगायत दिपा, दीक्षा भण्डारी आदिले दामोदरको सहशिक्षाको गरिमा र महिमालाई अझ चम्काउने नै छन् । दामोदरको उन्नति प्रगतिमा सबैको योग्यता–क्षमताले आगामी दिनमा अझ बल पु¥याउने नै छ ।

समय बदलिएकोछ । हिजो सिंभुवामा पानीको हाहाकार थियो । बाटो र बिजुली पनि थिएन । तर आजसम्म आइपुग्दा यो सबै सहज भएको छ । बाटो पुग्दैछ । घरघमा पानीको धारा जोडिएको छ । बिजुलीबत्तीले सिंभुवा झलमल्ल भएको छ । जंगलले हरियाली थपेको छ । परन्तु सिंभुवाको पुरानो बस्ती खुम्चिदैछ । यसमा परिवर्तन आवश्यक भैसकेकोछ ।

यो सपनाको खेती होइन । यो विपना हो । त्यो पनि नित्यनिरन्तरताकै उपज हो । हामी अहिले जो जो जहाँ जहाँ छौं – जे जस्तो अवस्थामा छौं – नितान्त अध्ययन अध्यापनकै बलमा उभिएका छौं । यसोभन्दा र यस्तो अवस्थामा आफुलाई पाउँदा हामी भण्डारी परिवारमा चाहिँ गौरवबोध नै छ । हामी हाम्रो मेहनत र लगानीलाई विस्तार गर्ने क्रममा छौं । अब हामी धनकुटा–सिंभुवामा मात्र सिमति रहेनौं । धरान, विराटनगर, झुम्का, काठमाडौं अमेरिका, क्यानाडा, जर्मन र अस्ट्रेलियामा समेत पैmलिइसकेका छौं । हाम्रो उर्जाले विस्तार पाएको छ । ज्ञानले फराकिलो बाटो समातेको छ । पूर्वीय संस्कृति र संस्कारमा अभ्यस्त भएका हामी अब पाश्चात्यतिर पनि आँखा दौडाउने भएका छौं । धार्मिक–आध्यात्मिक संस्कार र संस्कृतिबाट भौतिक–पराभौतिकतातिर पाइला चाल्दैछौं । मानविकी, व्यवस्थापन, भाषा–साहित्य मात्र होइन इञ्जिनियरिङ र चिकित्सा विज्ञानतिर पनि नजर पुग्दैछन् । हामी फैलिंदै छौं ।

हामी सुतेका छैनौं । हामी जाग्दैछौं । हामी जगाउँदै छौं । प्रत्येकपल केही न केही नयाँ सन्देश प्रक्षेपणको प्रयासमा छौं । हामी कति सफल हुन्छौं, कति असफल हुन्छौं त्यो त आउने पुस्ताले मूल्याङ्कन गर्ने नै छन् । उनीहरुको चेतनालाई सदा सम्मान गर्दै हामी हाम्रो कर्तव्य पथमा हिडिंरहन्छौं, हिडिरहन्छौं– चरैवेति चरैवेति ।

-त्रि.वि.पाटन संयुक्त क्याम्पस, पाटनढोका

Loading...